काठमाडौं । ललितपुर महानगरपालिकाले चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । आकस्मिक अवस्थाका बिरामीलाई घटनास्थलबाट अस्पतालसम्म पुर्याउँदा आवश्यक प्रारम्भिक उपचारसमेत उपलब्ध गराउने उद्देश्यले महानगरले सेवा सुरु गरेको हो ।
सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवाको शुभारम्भ गरिन् ।
मन्त्री मेहताले चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालन गरेर ललितपुर महानगरपालिकाले उदाहरणीय कामको सुरुवात गरेको बताइन् । आकस्मिक उपचारमा ‘गोल्डेन टाइम’ महत्वपूर्ण हुने उल्लेख गर्दै उनले घटनास्थलबाट अस्पतालसम्म पुग्ने समय घटाउन सके गम्भीर क्षति रोक्न सकिने बताइन् ।
ट्राफिक जाम तथा अन्य अवरोधका कारण अस्पताल पुग्न ढिलाइ हुँदा बिरामीको अवस्था जटिल बन्न सक्ने भन्दै उनले महानगरपालिकाको स्वास्थ्यसम्बन्धी पहलमा मन्त्रालयले आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नविशमानसिंह प्रधानले चिकित्सकसहितको एम्बुलेन्स सेवा बिरामीको प्रि–हस्पिटल केयर सुधार गर्ने महत्वपूर्ण पहल भएको बताए । यस्तो सेवा विश्वका सीमित स्थानमा मात्रै सञ्चालनमा रहेको उल्लेख गर्दै उनले यसबाट अस्पताल पुग्नुअघि नै बिरामीलाई आवश्यक उपचार उपलब्ध गराउन सहज हुने बताए ।
उनका अनुसार साउन महिनामा मात्रै महानगरसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य केन्द्रबाट १० हजार ४१ जनाले सेवा लिएका छन् । त्यसमध्ये करिब ३ हजार जनाले अल्ट्रासाउन्ड सेवा लिएको उनले जानकारी दिए ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फिलिपिन्सको माकाती सहरमा चिकित्सकसहितको एम्बुलेन्स सेवा देखेपछि ललितपुरमा पनि यस्तो सेवा सञ्चालन गर्ने अवधारणा अघि बढाइएको बताए ।
महानगरपालिकाको नवौँ नगरसभाबाट प्रस्ताव पारित भएपछि आवश्यक बजेट व्यवस्थापन गरेर सेवा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स सेवा विशेषगरी आपत्कालीन अवस्थाका बिरामीमा केन्द्रित हुनेछ ।
चिकित्सकको उपस्थितिमा घटनास्थलमै प्रारम्भिक उपचार उपलब्ध गराउने र त्यसपछि बिरामीलाई उपयुक्त अस्पतालमा पुर्याउने व्यवस्था गरिएको छ । एम्बुलेन्सले फोन आएको १५ मिनेटभित्र घटनास्थल पुग्ने लक्ष्य राखेको महानगरपालिकाले जनाएको छ ।
महानगर प्रमुख महर्जनले सेवा सञ्चालनका क्रममा देखिने समस्या र कमजोरीलाई क्रमशः सुधार गर्दै लैजाने बताए । उनले चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालन आफैँमा चुनौतीपूर्ण भए पनि काम गर्दै सिक्दै सेवा प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।
एम्बुलेन्स सञ्चालनका लागि ललितपुर महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य भएको छ । सम्झौताअनुसार एम्बुलेन्स सेवाका लागि चिकित्सक उपलब्ध गराउने तथा चिकित्सकको सेवा–सुविधासम्बन्धी खर्च महानगरपालिकाले व्यहोर्नेछ ।
बिरामीको इच्छाअनुसार उनीहरूले रोजेको अस्पतालसम्म पुर्याउने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको नगरप्रमुख महर्जनले बताए ।