काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा सञ्चालित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आइतबार सफलताका साथ सम्पन्न भएको छ ।
गत साउन २६ गतेदेखि सुरु भएको उक्त एक्स्पोमा सवारी साधन पारखी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नाइमाका अनुसार यस वर्षको मोबिलिटी एक्स्पो अघिल्ला संस्करणको तुलनामा अत्यन्तै सफल र उत्साहजनक बनेको छ ।
नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले अघिल्लो संस्करणमा करिब १ लाख दर्शकले मेला अवलोकन गरेकोमा यस पटक सो सङ्ख्या बढेर करिब १ लाख ८० हजार पुगेको जानकारी दिइन् ।
एक्स्पोमा नयाँ सवारी साधनहरूबारे जानकारी लिने, उपभोक्ताको चासो र बुकिङ गर्ने क्रमले समग्र अटोमोबाइल बजारप्रति सकारात्मक मनोविज्ञान प्रतिबिम्बित गरेको उनको भनाइ छ ।
साथै, नाइमाले नीति निर्माण तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै अध्यक्ष वैद्यले आगामी दिनमा अटो क्षेत्रको विकास र विस्तारमा संस्थागत योगदानलाई थप सुदृढ लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।