काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्री–वितरण गरेको छ ।
निगमका अनुसार टेकु परिसर, यातायात कार्यालय चावहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर बसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलस्थित बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको हो ।
वितरणका क्रममा केही ब्रान्डका ग्यास सिलिन्डर अपुग भएपछि बिक्री केन्द्रमा समयमै उपस्थित भएका उपभोक्तालाई कुपनमार्फत भोलिपल्ट पहिलो प्राथमिकतामा राखी ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको निगमले जनाएको छ ।
भाेलि थप सात बिक्री केन्द्रबाट ग्यास वितरण
निगमले भाेलि (आइतबार) काठमाडौं उपत्यकाका थप सात बिक्री केन्द्रबाट अत्यावश्यक उपभोक्ताका लागि एलपी ग्यास बिक्री–वितरण गर्ने जनाएको छ ।
निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुनेछन् ।
त्यस्तै, पशु सेवा शाखा, चापली, बूढानीलकण्ठबाट नेपाल, एचपी र मनु, राधास्वामी परिसर, कीर्तिपुरबाट नेपाल, एचपी, एभरेस्ट, श्रीकृष्ण, साईबाबा र श्रीमाया तथा नयाँ बजार/नयाँ बानेश्वर होटल परिसरबाट नेपाल, एचपी र ओम ब्रान्डका ग्यास बिक्री गरिनेछ ।
पुरानो जिल्ला प्रशासन कार्यालय परिसर, बबरमहलबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिने निगमले जनाएको छ । त्यस्तै, चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र, कीर्तिपुरबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री–वितरण गरिनेछ ।
निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको जनाएको छ । बिक्री–वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायीलाई आफ्ना विक्रेतामार्फत नियमित रूपमा ग्यास बिक्री गर्नसमेत अनुरोध गरेको छ ।
साथै, कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ ।