चक्र मल्ल बन्दैछन् सुदूरपश्चिमको अर्थमन्त्री

को हुन् उनी ?

काठमाडौं ।  सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमाले सहभागी हुने भएपछि आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी कसले पाउने भन्ने टुंगो लागेको छ । एमाले संसदीय दलले प्रमुख सचेतक चक्र मल्ललाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा पठाउने निर्णय गरेको छ ।

एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको हो । थापालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने गरी दलले सिफारिस गरेको छ ।

त्यस्तै, सांसद दमन भण्डारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमध्ये एउटा मन्त्रालयको जिम्मेवारी दिने गरी सिफारिस गर्ने निर्णय भएको छ । यस विषयमा नेकपासँग छलफल गरेर अन्तिम टुंगो लगाइने एमालेले जनाएको छ ।

एमालेले जानकी ऐरलाई राज्यमन्त्रीका रूपमा सरकारमा पठाउने निर्णय पनि गरेको छ । 

एमालेका मन्त्रीहरूले मुख्यमन्त्रीसहित आजै पद तथा गोपनीयताको शपथ लिने तयारी छ । एमालेको सरकार प्रवेशसँगै सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । 

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । भट्टले शुक्रवार बिहान प्रदेश प्रमुखको कार्यालय, धनगढीमा पुगेर मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए । उनलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गरेका थिए । 

को हुन् अर्थमन्त्री बन्दै गरेका मल्ल ?

डोटी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित चक्र मल्लको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भएको हो । डोटीको आदर्श गाउँपालिका-३, झुँडामा २०३७ सालमा जन्मिएका मल्ल किशोर अवस्थामै संगठित राजनीतिमा सक्रिय बनेका थिए । 

२०४९ सालमा सीताराम माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहँदा उनले एमाले निकट अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यका रूपमा राजनीतिक गतिविधिमा सहभागिता जनाएका थिए । त्यसपछि विद्यार्थी संगठनभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै उनी विद्यालयस्तरीय कमिटीको अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मको यात्रामा पुगे । 

विद्यार्थी राजनीतिमा सक्रिय मल्ल २०५७ सालमा डोटी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा निर्वाचित भएका थिए । अंग्रेजी विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका उनले विद्यार्थी आन्दोलनपछि शिक्षण पेशालाई पनि निरन्तरता दिए । वि.सं २०६१ सालदेखि डोटी क्याम्पसमा अध्यापन सुरु गरेका मल्लले शिक्षा र राजनीति दुवै क्षेत्रमा समानान्तर रूपमा सक्रियता देखाए ।

पार्टी राजनीतिमा उनको भूमिका २०६४ सालपछि थप विस्तार भयो । सो वर्ष नेकपा एमालेको जिल्ला कमिटी सदस्य बनेका उनी २०६६ सालमा जिल्ला उपाध्यक्ष र २०६९ सालमा जिल्ला अध्यक्षमा निर्वाचित भए । जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दा उनी तत्कालीन ७५ जिल्ला कमिटी अध्यक्षमध्ये सबैभन्दा कम उमेरका नेता मानिन्थे । 

विद्यार्थी आन्दोलन, शिक्षण पेशा र संगठन निर्माणको लामो अनुभव बोकेका मल्ल अहिले सुदूरपश्चिम प्रदेशको राजनीतिमा प्रभावशाली नेताका रूपमा परिचित छन् । 
 

Share News