सानिमा जिआइसीको खुद बीमाशुल्क ८३ करोड नाघ्यो

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको नाफामा उल्लेख्य गिरावट आएको छ भने बीमाशुल्क आर्जनमा वृद्धि भएको छ ।

कम्पनीले समीक्षा अवधिमा १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३३ करोड ६७ लाख रुपैयाँ थियो । यससँगै अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा करिब ६१ प्रतिशतले घटेको छ ।

२ अर्ब २५ करोड रुपैयाँ शेयर पुँजी रहेको कम्पनीको समीक्षा अवधिमा विशेष जगेडामा ८१ करोड ४५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, महाविपत्ति कोषमा ५ करोड २४ लाख, रिटेन्ड अर्निङमा ९ करोड ८७ लाख र अन्य इक्विटीमा १० करोड २७ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीको विशेष जगेडा ७४ करोड ९५ लाख, महाविपत्ति कोष ४ करोड ५९ लाख, रिटेन्ड अर्निङ १७ करोड २७ लाख र अन्य इक्विटी १४ करोड २७ लाख रुपैयाँ रहेको थियो ।

यता, कम्पनीको कुल बीमाशुल्क आर्जनमा भने वृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीले २ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो बीमाशुल्क २ अर्ब ५३ करोड १५ लाख रुपैयाँ थियो । यस आधारमा कुल बीमाशुल्क आर्जन ७.८२ प्रतिशतले बढेको हो ।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीले ८३ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ७६ करोड ४२ लाख रुपैयाँ थियो । यस आधारमा खुद बीमाशुल्क आर्जन ९ प्रतिशतले बढेको हो ।

कम्पनीले समीक्षा अवधिमा पुनर्बीमाका लागि १ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पुनर्बीमामार्फत १ अर्ब ७६ करोड ७२ लाख रुपैयाँ खर्च गरेको थियो ।

यता, कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ७६ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

Share News