काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध दायर भएको मुद्दाको घटनाले बैंकको नियमित कारोबारमा तत्काल कुनै असर नपर्ने स्पष्ट पारेको छ ।
स्मार्ट टेलिकमको ऋण असुलीका लागि बैंकले गरेको धितो लिलामीसम्बन्धी विषयमा बैंकका सञ्चालक र सीईओविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको छ । यसले नियमित कारोबारमा तत्काल कुनै असर नपर्ने राष्ट्र बैंकले विज्ञप्तिमार्फत जनाएको हो ।
राष्ट्र बैंकले बैंकको सञ्चालन तथा व्यवस्थापनलाई नजिकबाट अनुगमन गरिरहेकोसमेत जनाएको छ ।
बैंकको तरलता अवस्था र वित्तीय सबलताका सूचक राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार सन्तोषजनक रहेको भन्दै हाल बैंकको दैनिक कार्यसञ्चालनमा कुनै किसिमको जटिलता उत्पन्न हुने अवस्था नदेखिएको स्पष्ट पारेको छ ।
मुद्दा अदालतमा विचाराधीन रहेकै कारण बैंकको नियमित कारोबार प्रभावित हुने अवस्था नरहेको राष्ट्र बैंकको भनाइ छ ।
मुद्दाको प्रकृति, समयावधि र गम्भीरताका आधारमा बैंकसँग थप छलफल तथा कानुनी राय लिने काम भइरहेको पनि केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले प्रचलित कानुनी व्यवस्थाअनुसार बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापन तथा बैंक सञ्चालनसँग सम्बन्धित आवश्यक उपाय अवलम्बन गरिने जनाएको छ ।