‘शक्ति होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न र मुलुक तथा जनताको सेवा गर्न फर्किएको बताएका छन् । 

झण्डै पाँच महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका देउवाले  बिहीबार सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

स्वास्थ्य उपचारपछि स्वदेश फर्किन पाउँदा आफू भावनाले भरिएको उल्लेख गर्दै देउवाले स्वास्थ्यप्रति चासो राख्ने, चिन्ता गर्ने तथा स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । 

आफू विनम्र सेवकका रूपमा सुन्न, सिक्न र समुन्नत मुलुक निर्माणको यात्रामा समर्पित हुन फर्किएको उनको भनाइ छ ।

देउवाले नेपाली कांग्रेस केवल लोकतान्त्रिक इतिहास बोकेको दल नभई दशकौंको राजनीतिक संघर्षबाट आफ्नो अस्तित्व र मर्यादा जोगाउन सफल पार्टी भएको उल्लेख गरेका छन् । 

उनले बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायत अग्रज नेताहरूको त्याग र योगदानलाई कहिल्यै बिर्सन नहुने बताएका छन् । उनीहरूको विरासतलाई गौरवको पदकका रूपमा मात्र नभई जनताको विश्वासका रूपमा ग्रहण गर्नुपर्ने देउवाको भनाइ छ ।

देउवाले पछिल्लो समय युवा पुस्तामा देखिएको असन्तुष्टि, पीडा र परिवर्तनको चाहनालाई आफूले गम्भीर रूपमा बुझेको बताएका छन् । 

नेपाली कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको उल्लेख गर्दै उनले बदलिँदो विश्वसँगै कांग्रेस पनि समयको गतिअनुसार अघि बढ्नुपर्ने बताएका छन् ।

गत भदौमा भएको जेनजी आन्दोलनका जायज मागलाई सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको पनि उनले स्मरण गरेका छन् ।

लोकतन्त्र, स्वतन्त्रता तथा विभिन्न जातजाति, क्षेत्र र समुदायका अधिकारका लागि अघिल्लो पुस्ताले लामो संघर्ष गरेको भन्दै उनले त्यस ऐतिहासिक योगदानलाई नकारात्मक भाष्यबाट हेर्न नहुने बताएका छन् ।

उनले लोकतन्त्रमा सत्ता अस्थायी हुने तर जनताको मन बुझ्ने नेता सधैं स्मरणीय हुने धारणा पनि राखेका छन् । राजनीतिक यथार्थका जटिलतालाई इमानदारीपूर्वक स्वीकार गर्दै जनताको इच्छालाई सर्वोच्च मानेर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

देउवा गत वर्षको फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए । सिंगापुरमा उपचारपछि उनी थप उपचारका लागि हङकङ पुगेका थिए ।

विदेशमा रहँदा देउवाले विभिन्न निकायलाई पत्र पठाउँदै साउनभित्रै स्वदेश फर्किने जानकारी गराएका थिए । सोहीअनुसार आज उनी नेपाल फर्किएका हुन् ।

देउवा स्वदेश फर्किएसँगै कांग्रेसको आन्तरिक राजनीतिमा समेत उनको सक्रियता बढ्ने अपेक्षा गरिएको छ।

कांग्रेस संस्थापनइतर पक्षले यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेका बेला देउवा स्वदेश फर्किएका हुन् । उक्त भेलामा देउवा पनि सहभागी हुने बताइएको छ ।

nullnull

 

Share News