नाइमा मोबिलिटी एक्स्पोः पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकले गरे अवलोकन

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो संस्करण भृकुटीमण्डपमा सुरु भएको छ । 

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजित यस एक्स्पोको पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । 

छ दिनसम्म अर्थात् साउन ३१ गतेसम्म सञ्चालन हुने यस मेलामा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ । एक्स्पोमा नेपालमा पहिलोपटक भित्रिएका नयाँ ब्रान्डका साथै विभिन्न मोडलका विद्युतीय कार, ई-स्कुटर र विद्युतीय व्यावसायिक सवारीसाधनहरू मुख्य आकर्षणका रूपमा रहेका छन् । 

सवारी खरिदलाई सहज बनाउन बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले अवलोकनकर्ताका लागि विशेष अफर र सहुलियतपूर्ण कर्जा सुविधा समेत उपलब्ध गराइरहेका छन् । ​​​​​​​

नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधन किनबेच गर्ने थलो मात्र नभई सम्पूर्ण मोबिलिटी इकोसिस्टमलाई एकै ठाउँमा ल्याउने साझा मञ्च भएको बताइन् । उनले पटक-पटक फेरिने नीतिगत व्यवस्थाले व्यवसायीमा अनिश्चितता सिर्जना गरेकाले नयाँ लगानी भित्रिन समस्या भइरहेको बताइन् । उनले निजी क्षेत्र र सरोकारवालाहरूसँग छलफल गरेरमात्रै नीतिहरू परिवर्तन गर्न सरकारलाई सुझाव दिइन् ।

 

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सवारीसाधन बिक्री गरेरमात्रै नहुने र सुरक्षाको क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गर्न व्यवसायीहरूलाई सुझाव दिए । उनले ब्रान्डहरूले बिक्रीपछिको सेवामा ध्यान दिनुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई सधैँ राजस्वको स्रोतको रूपमा मात्रै हेरेको गुनासो गरे । उनले अटोमोबाइल क्षेत्रलाई विलासी नभई आवश्यकताको क्षेत्रको रूपमा लिन सुझाव दिए । नेपालमा अटोमोबाइल क्षेत्रमा संसारकै सबैभन्दा उच्च भन्सारदर लागु गरिएको उनले बताए ।

सबै व्यवसायको लागि स्थिर नीति आवश्यक पर्ने भएकाले विद्युतीय सवारीका लागि पनि स्थिर नीति लिन उनले सुझाव दिए । अध्यक्ष श्रेष्ठले निजी क्षेत्र लगानी गर्न तयार रहेको तर त्यसका लागि सरकारले वातावरण बनाइदिनुपर्ने बताए ।

त्यस्तै, नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्र सरकारलाई राजस्व प्रदान गर्ने प्रमुख क्षेत्रमध्ये एक भएकाले सरकारले उच्च प्राथमिकतामा राखेर हेर्नुपर्ने धारणा राखे । उनले यातायात क्षेत्रमा हुने लगानी र यसको दिगो विकासले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

त्यसैगरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी अब यातायातको विषय मात्रै नभएर देशको आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए । नेपालको कुल गार्हस्थ्य उत्पादनमा मोबिलिटी क्षेत्रको करिब ७ प्रतिशत योगदान रहेको तथ्यांक उनले पेस गरे ।

‘यो क्षेत्र बैंकिङ, बिमा, पर्यटन, निर्माण र सूचना प्रविधिजस्ता विविध क्षेत्रसँग अन्तरसम्बन्धित छ । त्यसैले यस क्षेत्रलाई केवल विलासिता वा उपभोगको क्षेत्रका रूपमा नहेरी आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्छ,’ उनले भने ।

पहिलो दिन मंगलबार विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् । मेला अवधिभरमा करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ । एक्स्पोको पहिलो दिन मंगलबार इन्भेस्टमेन्ट एन्ड फरेन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडीआई) मोबिलाइजिङ फ्युल फर इकोनोमिक ग्रोथ विषयमा छलफल भएको छ ।

पूर्वबैंकर अनिलकेशरी शाहले सहजीकरण गरेको कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं आर्थिक अनुसन्धान विभाग प्रमुख डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नाइमा अध्यक्ष वैद्यले प्यानलिस्टका रूपमा सहभागिता जनाएका छन् । मंगलबारको लर्निङ सेसनमा मात्रै तीन सयभन्दा बढीले सहभागिता जनाएका छन् ।

एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूद्वारा लर्निङ सेसन्स, पोलिसी डाइलग र इन्डस्ट्री इन्टर्याक्सन्सजस्ता कार्यक्रमहरु सञ्चालन हुनेछन् । कार्यक्रममा बेसिक लाइफ सपोर्ट एन्ड इमिडिएट केयर आफ्टर रोड ट्राफिक एक्सिडेन्ट्स विषयमा ग्रान्डी इन्टरनेसलन हस्पिटलका तर्फबाट जानकारीमूलक विशेष प्रस्तुति दिइएको थियो ।

एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ । एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई-स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् ।

एक्सपोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् । मेलाको को-स्पोन्सरमा ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ भने रेडबुल पावर्डबाईका रूपमा रहेको छ ।

त्यस्तै, बैंकिङ पार्टनरका रूपमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड रहेका छन् । मेलाको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।

त्यसैगरी, टेक्नोलोजी पार्टनरमा बोस, एजुकेसन पार्टनरमा ग्लोबल कलेज र एम्बार्क कलेज, चार्जिङ पार्टनरमा अग्नि इनर्जी प्राइभेट लिमिटेड र अजायल इन्जिनियरिङ सोलुसन्स प्राइभेट लिमिटेड, राइड पार्टनरमा पठाओ नेपाल प्राइभेट लिमिटेड, हाइड्रेसन पार्टनरमा अक्वा मिनरल्स (अक्वा हन्ड्रेड) प्राइभेट लिमिटेड, हस्पिटालिटी पार्टनरमा द सोल्टी काठमाडौं, मेडिकल पार्टनरमा ग्रान्डी इन्टरनेसनल हस्पिटल, सर्भिलियन्स पार्टनरमा भत्सल इम्पेक्स प्राइभेट लिमिटेड (हिकभिजन) तथा फायर एन्ड सेफ्टी पार्टनरमा हिट्को प्राइभेट लिमिटेड रहेका छन् ।

नाइमा मोबिलिटी एक्स्पोको को टिकेटिङ पार्टनरमा आइएमई खल्ती लिमिटेड, क्यूआर पार्टनरमा युनियन पे, अडियो भिजुअल पार्टनरमा पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क प्राइभेट लिमिटेड, डिजिटल पार्टनरमा डिजिपल सोलुसन्स प्राइभेट लिमिटेड, भेइकल सेफ्टी पार्टनरमा एटीएस नेपाल, म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन्स प्राइभेट लिमिटेड, कनेक्टिभिटी पार्टनरमा वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड र पब्लिकेसन पार्टनरमा प्रफिट मिडिया प्राइभेट लिमिटेड रहेका छन् ।

Share News