सीटीईभीटीमा कार्यरत करार तथा ज्यालादारी श्रमिक आन्दोलित

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा कार्यरत करार तथा ज्यालादारी श्रमिक आन्दोलित बनेका छन् । 

विभिन्न माग राख्दै आन्दोलित बनेका कर्मचारीहरूले मंगलबार (आज) सीटीईभीटीको केन्द्रीय कार्यालय घेराउ गरेका छन् । 

लामो समयदेखि संस्थामा कार्यरत भए पनि आफूहरूको रोजगारी तथा सेवा–सुविधा सुनिश्चित नगरिएको भन्दै श्रमिकहरूले माग सम्बोधनका लागि दबाबस्वरूप कार्यालय घेराउ गरेका हुन् ।

उनीहरूले आफूहरूलाई हाल जुन पद तथा जिम्मेवारीमा काम गरिरहेका छन्, सोही पदमा निरन्तर काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने माग समेत गरेका छन् । 

यस्तै, करार कर्मचारीलाई पनि संस्थामा गरेको श्रम र योगदानका आधारमा न्यायोचित सेवा–सुविधा उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।

करार कर्मचारीलाई दशैंदेखि पोसाक भत्ता, प्रशिक्षण भत्ता, दुर्गम भत्ता, स्थानीय भत्ता, प्रोत्साहन भत्ता, महँगी भत्ता, सामाजिक सुरक्षा, उपदान लगायतका सुविधा उपलब्ध गराउनुपर्ने माग श्रमिकहरूले अघि सारेका छन् ।

त्यस्तै, मासिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई हालकै अवस्थामा निरन्तर काम गर्न दिनुपर्ने र अनावश्यक रूपमा पद, काम, जिम्मेवारी वा कार्यप्रकृतिमा परिवर्तन गर्न नहुने माग पनि उनीहरूको छ ।

Share News