अमेरिकाले रद्द गर्‍यो १ लाख ७५ हजारभन्दा बढी भिसा, ट्रम्प प्रशासनको अध्यागमन नीतिमा कडाइ

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरिएको जनाएको छ ।

विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको पाइएपछि ती भिसा रद्द गरिएको उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार कुटपिट, मादक पदार्थ सेवन गरी सवारी चलाउने (डीयूआई), चोरी र लागुऔषधसम्बन्धी अपराध भिसा रद्द हुनुका मुख्य कारण हुन् ।

त्यस्तै, लापरवाहीपूर्ण ढंगले सवारी चलाउने, यौनजन्य हिंसा, बाल दुर्व्यवहार, जालसाजी र आर्थिक हिनामिनामा संलग्न व्यक्तिहरूको भिसासमेत रद्द गरिएको मन्त्रालयले जनाएको छ ।

विदेश मन्त्रालयले अमेरिकी भिसालाई अधिकार नभई विशेषाधिकारका रूपमा व्याख्या गरेको छ ।

‘अमेरिकी भिसा प्राप्त गर्नु एउटा विशेषाधिकार हो, अधिकार होइन,’ मन्त्रालयले भनेको छ, ‘यसको दुरुपयोग गर्नेहरूबाट हाम्रा समुदायलाई सुरक्षित राख्न उपलब्ध सबै कानुनी संयन्त्रको प्रयोग गर्न विभाग प्रतिबद्ध छ ।’

ट्रम्प ह्वाइट हाउसमा फर्किएसँगै उनको प्रशासनले अध्यागमन नीतिमा व्यापक कडाइ गर्दै आएको छ ।

यसअन्तर्गत कागजपत्रविहीन आप्रवासीविरुद्ध कडा कदम चालिनुका साथै वैध भिसामा अमेरिकामा रहेका व्यक्तिको समेत निगरानी र छानबिन तीव्र पारिएको छ ।

अमेरिकी प्रशासनले आपराधिक गतिविधिमा संलग्न तथा भिसाका सर्त उल्लंघन गर्ने विदेशी नागरिकमाथि थप कडाइ गर्ने संकेतसमेत दिएको छ ।

Share News