प्रधानमन्त्रीलाई सांसद काउचाले भनिन्– कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री बालेन्द्र साहलाई विधि, लोकतान्त्रिक मूल्यमान्यता, संविधान र संसदीय मर्यादालाई कमजोर पार्ने कार्य नगर्न आग्रह गरेकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् ।

उनले मुलुकको हितमा सरकारले चाल्ने हरेक कदममा प्रतिपक्षको साथ रहने बताइन् । तर, लोकतान्त्रिक व्यवस्था र संसद्को सर्वोच्चतालाई कमजोर बनाउने काममा प्रतिपक्ष मौन बस्न नसक्ने उनको भनाइ छ ।

सांसद काउचाले प्रधानमन्त्री सत्तापक्षको मात्रै नभई सबै नेपालीको प्रधानमन्त्री भएको उल्लेख गरिन् । संसद्मा दैनिक उठिरहेको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिको विषयले प्रधानमन्त्रीको राजनीतिक साखमा असर पारेकोतर्फ पनि उनले ध्यानाकर्षण गराइन् ।

प्रधानमन्त्री साहको फेसबुक स्टाटसलाई लक्षित गर्दै उनले प्रधानमन्त्री एक्लै नरहेको बताउँदै ‘कालो चस्मा खोल्न’ आग्रह गरिन् ।

संसद्को अभिलेखमा रहेको सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति सच्याउन किन कठिनाइ भइरहेको भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्नसमेत गरिन् ।

उनले भनिन्, ‘म यो सदनबाट प्रधानमन्त्रीज्यूलाई स्पष्टसँग भन्न चाहन्छु, कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न । मुलुकको हितमा तपाईंले चाल्ने हरेक कदममा प्रतिपक्ष तपाईंको साथमा छ । तर विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्यमान्यता, संविधान, संसदीय मर्यादा र अभ्यास तथा संसद्को सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन । प्रधानमन्त्रीज्यू, तपाईं मान्नुस् या नमान्नुस्, तपाईं सत्तापक्षको मात्रै प्रधानमन्त्री होइन ।’

उनले प्रतिपक्षले प्रधानमन्त्रीको अपमान नगरेको बताइन् । ‘हामी तपाईंको ओझ घटाउन होइन, अझै बढाउन खोजिरहेका छौँ,’ उनले भनिन् ।

प्रधानमन्त्रीको पछिल्लो कार्यशैलीका कारण मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठामाथि प्रश्न उठ्नु दुःखद् भएको उनको भनाइ थियो ।

सांसद काउचाले प्रतिपक्षले सरकारको घेराबन्दी गर्न नभई सरकारलाई जवाफदेही बनाउन खोजिरहेको पनि स्पष्ट पारिन् ।

Share News