६ कम्पनीका १० लाख बढी कित्ता सेयर बिक्रीमा

काठमाडौँ । विभिन्न ६ बैंक तथा बीमा कम्पनीका १० लाखभन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । सम्बन्धित कम्पनीका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् ।

कुमारी बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ४ लाख २० हजार ९४८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । यस्तै, लुम्बिनी विकास बैंककी संस्थापक सेयरधनी गायत्री अधिकारीले २६ हजार ९७८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेकी छिन् ।

यस्तै, सानिमा बैंकका संस्थापक सेयरधनी सुधिरकुमार अग्रवालले आफ्नो नाममा रहेको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । उक्त सेयरको मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ ।

यस्तै, कामना सेवा विकास बैंकको २ लाख ७८ हजार २६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । यसैगरी, स्वरोजगार लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनी तनुजा अधिकारीले ३७ हजार ७७२ कित्ता र दिपिक पन्थले ८ हजार कित्ता गरी कुल ४५ हजार ७२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् ।

यस्तै, सानिमा जीआईसी इन्स्योरेन्सका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको २ लाख ६१ हजार ७३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् ।

सम्बन्धित कम्पनीका विद्यमान संस्थापक सेयरधनीले तोकिएको ३५ दिनभित्र आवेदन नदिएमा प्रचलित व्यवस्था बमोजिम सर्वसाधारण लगानीकर्ताका लागि उक्त संस्थापक सेयर बिक्री खुला गरिने जनाइएको छ ।

Share News