पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रको सक्रियता, अध्यक्षका उम्मेदवार पाण्डेका यस्ता छन् एजेण्डा

काठमाडौं । पर्यटन, हस्पिटालिटी तथा एभिएसन क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव भएका भरतजंग पाण्डे नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

एभरेष्ट मिराकल ट्राभल्स एण्ड टुर्सका संस्थापक निर्देशक तथा ग्यालरी पार्क होटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाण्डे लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय छन् । पर्यटन क्षेत्रको निजी व्यवसायमा हासिल गरेको अनुभवलाई अब संस्थागत नेतृत्वमा रूपान्तरण गर्ने उद्देश्यसहित आफू अध्यक्षको उम्मेदवार बनेको बताउँछन् ।

पाण्डेको चुनावी अभियानको मूल नारा ‘सशक्त नाट्टा, समृद्ध पर्यटन: सदस्यसँगै, सदस्यका लागि’ रहेको छ । उनले नाट्टालाई केवल व्यवसायीको प्रतिनिधिमूलक संस्था नभई सरकारसँग प्रभावकारी नीतिगत संवाद र पैरवी गर्न सक्ने संस्थाका रूपमा विकास गर्ने योजना अघि सारेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट एमटीटीएम, पोखरा विश्वविद्यालयबाट बीएचएम तथा मकाउस्थित आईएफटीबाट पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय अध्ययन गरेका पाण्डे नाट्टाका पूर्व कार्यसमिति सदस्यसमेत हुन् ।

अघिल्लो कार्यकालमा उनले नाट्टाको सचिवालय आधुनिकीकरणमा  योगदान पुर्याएका छन् । यसपटक भने संस्थालाई प्रविधिमैत्री, पारदर्शी र सदस्य केन्द्रित बनाउने उनको प्रमुख लक्ष्य छ ।

पाण्डेका अनुसार नेपालको ट्राभल तथा टुर व्यवसाय पछिल्लो समय अनेकौं चुनौतीबाट गुज्रिरहेको छ । हवाई टिकटमा लगाइएको भ्याट, डलर कार्डको समस्या, विदेशी मुद्रा कारोबार, अनलाइन ठगी, जीडीएस फ्रड तथा एयरलाइन्ससँगको कमिसन र सेटलमेन्ट विवादले व्यवसायीलाई प्रत्यक्ष असर गरिरहेको उनको भनाइ छ ।

‘ट्राभल तथा टुर व्यवसायीहरूले अहिले हवाई टिकटमा लगाइएको भ्याट, डलर कार्डको समस्या र अनलाइन ठगीजस्ता गम्भीर समस्या झेलिरहेका छन्,’ पाण्डेले भने, ‘यी समस्याको समाधान भाषणले होइन, ठोस नीतिगत पहलबाट मात्र सम्भव छ ।’

उनले नाट्टालाई केवल व्यवसायीको प्रतिनिधिमूलक संस्था मात्र नभई सरकारसँग नीतिगत संवाद र पैरवी गर्न सक्ने प्रभावशाली संस्थाका रूपमा विकास गर्ने योजना अघि सारेका छन् ।

पाण्डेको दृष्टिमा अब नाट्टा परम्परागत शैलीमा सञ्चालन भएर मात्र पुग्दैन । प्रविधिको तीव्र विकाससँगै संस्थाको कार्यशैली र सेवा प्रवाह पनि परिवर्तन गर्न आवश्यक छ । त्यसैले उनले ‘डिजिटल नाट्टा’ निर्माणलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन् ।

डिजिटल नाट्टाअन्तर्गत अनलाइन सदस्यता नवीकरण, डिजिटल भुक्तानी, गुनासो सुनुवाइ प्रणाली तथा सदस्यका लागि आवश्यक सूचना र सर्कुलर एउटै डिजिटल प्लेटफर्मबाट उपलब्ध गराउने उनको योजना छ । साथै, नाट्टाको व्यवस्थित डिजिटल डेटाबेस निर्माण गरी सेवा प्रवाहलाई सहज बनाउने र सदस्य तथा संस्थाबीचको दूरी घटाउने उनले बताए । ‘संस्था सदस्यका लागि हो भने सदस्यले संस्थाको सेवा सहज रूपमा पाउनुपर्छ,’ पाण्डेले भने ।

पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको सक्रियता आवश्यक रहेको पाण्डेको धारणा छ । नेपालको पर्यटन प्रवद्र्धन सरकार वा नेपाल पर्यटन बोर्डको मात्र जिम्मेवारी नभएकाले निजी क्षेत्रले पनि अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाउनुपर्ने उनले बताए ।

सम्भावना भएका अन्तर्राष्ट्रिय बजार पहिचान गरी नियमित ‘सेल्स मिसन’ सञ्चालन गर्ने तथा विश्वका चर्चित ट्राभल मार्टसँग सहकार्य गर्ने योजना उनले अघि सारेका छन् । विदेशी दूतावास तथा कूटनीतिक नियोगसँग सहकार्य गरी नेपाललाई प्राथमिक पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने र अन्तर्राष्ट्रिय स्तरको आफ्नै ट्राभल मार्ट विकास गर्ने योजना पनि उनको छ ।

पर्यटन व्यवसाय प्रतिस्पर्धात्मक बन्दै गइरहेको अवस्थामा व्यवसायीको क्षमता विकासलाई पनि उनले प्राथमिकतामा राखेका छन् । एकाउन्टिङ, डिजिटल मार्केटिङ र टिकेटिङसम्बन्धी निःशुल्क तालिम सञ्चालन गर्ने तथा अन्तर्राष्ट्रिय बजार बुझ्न र नयाँ गन्तव्यसँग व्यावसायिक सम्बन्ध विस्तार गर्न फ्याम ट्रिप आयोजना गर्ने उनको योजना छ । नाट्टाको सदस्यता केवल संस्थागत आबद्धता वा परिचयपत्रमा सीमित नभई व्यवसायीको व्यावसायिक क्षमता विकासको माध्यम बन्नुपर्ने पाण्डेको धारणा छ ।

आउटबाउन्ड टुर व्यवसायमा देखिएका समस्या समाधानका लागि पनि नीतिगत पहल गर्ने उनले बताए । नेपालीहरू विदेश भ्रमणमा जाने क्रम बढे पनि स्विफ्ट ट्रान्सफर, डलर कार्डको उपलब्धता र विदेशी मुद्रा कारोबारसँग जोडिएका समस्या रहेको भन्दै उनले नेपाल राष्ट्र बैंकसँग समन्वय गरी समाधान खोज्ने योजना रहेको बताए ।

त्यस्तै, कर्पोरेट हाउसलाई आन्तरिक पर्यटनसँग जोडेर देशभित्रै पर्यटन गतिविधि बढाउनुपर्ने उनको भनाइ छ । माउन्ट कैलाश, भुटान, भारत, श्रीलंका लगायतका गन्तव्यलाई समेटेर बहुउद्देश्यीय टुर प्याकेज विकास गर्नुपर्ने उनले बताए । 


विदेशी कम्पनीबाट हुने ठगी नियन्त्रण गर्न त्यस्ता कम्पनीलाई कालोसूचीमा राख्ने व्यवस्था गर्न पहल गर्ने पाण्डेले बताए । बंगलादेशी पर्यटकका लागि नेपालमै टाका सटहीको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग पहल गर्ने उनको योजना छ । 

पर्यटन व्यवसाय विस्तारसँगै व्यवसायीको जोखिम व्यवस्थापन पनि महत्वपूर्ण छन् । जीडीएस फ्रड तथा साइबर अपराधबाट हुने आर्थिक क्षति न्यूनीकरणका लागि बीमा कम्पनीसँग सहकार्य गरी ‘इन्स्योरेन्स प्रोटेक्सन स्किम’ लागू गर्नुपर्ने उनको भनाइ छ ।

पर्यटन पूर्वाधार विकासलाई पनि पाण्डेले आफ्नो प्राथमिकतामा राखेका छन् । नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा अझै आधारभूत पूर्वाधारको अभाव रहेको भन्दै उनले दुई वर्षभित्र प्रमुख पर्यटकीय गन्तव्यमा कम्तीमा २० वटा सार्वजनिक शौचालय निर्माण गर्न पहल गर्ने बताए ।

त्यस्तै, ‘क्लिन एण्ड ग्रीन नेपाल’ अभियान सञ्चालन गर्ने तथा प्रमुख ट्रेकिङ रुटमा ‘क्यारी इन–क्यारी आउट’ नीति लागू गर्न पहल गर्ने उनको योजना छ ।

पाण्डेले नाट्टाको सदस्य संख्या कम्तीमा एक हजार पुर्याउने लक्ष्य पनि अघि सारेका छन् । हालको संरचनालाई विस्तार गर्दै नाट्टालाई पर्यटन क्षेत्रको छाता संगठनका रूपमा महासंघको ढाँचामा पुनर्संरचना गर्ने उनको योजना छ ।

केन्द्रमा सबै प्रदेशको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरी काठमाडौं केन्द्रित संस्थाको छवि परिवर्तन गर्ने र देशभरका ट्राभल तथा टुर व्यवसायीलाई एउटै संस्थागत संरचनामा जोड्ने उनले बताए ।

‘पर्यटन गन्तव्यको विकाससँगै व्यवसायीको मनोबल उच्च राख्नु हाम्रो दायित्व हो,’ पाण्डेले भने, ‘हामी सदस्यसँगै रहेर, सदस्यकै लागि काम गर्न यो टिम लिएर आएका छौं ।’

Share News