याडियाले नेपालमा तीन नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्‍यो

काठमाडौं । याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपालले जीएस७०, जीटी७० र जीटी८० गरी तीन नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार नयाँ स्कुटरहरू आधुनिक प्रविधि, उच्च कार्यक्षमता र नेपाली उपभोक्ताको बदलिँदो आवागमन आवश्यकतालाई ध्यानमा राखेर बजारमा ल्याइएको हो ।

जीएस७० दैनिक सहरी यात्रालाई लक्षित गरी तयार गरिएको मोडल हो । जीटी७० लामो दूरीका यात्रुका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । प्रिमियम सेग्मेन्टको जीटी८० भने उच्च प्रदर्शन, आकर्षक डिजाइन र उन्नत फिचरसहित बजारमा ल्याइएको छ ।

तीनै मोडलमा ब्लुटुथ कनेक्टिभिटी, टीएफटी स्मार्ट डिस्प्ले, मोबाइल नेभिगेसन, स्मार्ट एप, फेमिली सेयरिङ, की–लेस प्रणाली, ट्र्याक्सन कन्ट्रोल सिस्टम (टीसीएस), क्रुज कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल तथा डुअल डिस्क ब्रेकिङ सिस्टमजस्ता सुविधा दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीले नयाँ स्कुटरमा तीन वर्ष वा ५० हजार किलोमिटरसम्मको ब्याट्री वारेन्टी उपलब्ध गराउने जनाएको छ । हाल यी स्कुटर देशभर रहेका २० आधिकारिक याडिया डिलरमार्फत बिक्री भइरहेको र आगामी दिनमा बिक्री तथा सेवा सञ्जाल थप विस्तार गरिने कम्पनीको योजना छ ।

नाइमा अटो शो अवधिभर तीनै मोडलमा १० हजार रुपैयाँसम्म विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । ग्राहकले नजिकको याडिया शोरुममा पुगेर टेस्ट राइड, फाइनान्स सुविधा र थप जानकारी लिन सक्नेछन् ।

Share News