सर्वोच्चको पुनरावलोकन आदेशपछि कांग्रेस केन्द्रीय समिति बैठक २४ गते बस्दै

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा पुनरावलोकनको अनुमति दिएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न कांग्रेसले आगामी २४ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले सर्वोच्चको पछिल्लो आदेशसहित समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा गरी आगामी रणनीति तय गर्नेछ । चालिसेका अनुसार २४ गतेको बैठक पूर्वनिर्धारित हो । यहीबीच अदालतले दिएको निस्साको आदेश आएको हो।  बैठकमा विशेषगरी अदालतबाट प्राप्त पुनरावलोकनको निस्सा र त्यसबाट उत्पन्न कानुनी तथा राजनीतिक अवस्थाबारे विस्तृत छलफल हुने उनले जानकारी दिए ।

सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएसँगै कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दा पुनः सुनुवाइको प्रक्रियामा प्रवेश गरेको छ । अब मुद्दाको सुनुवाइ सुरुदेखि नै हुने भएको छ ।

यसअघि सर्वोच्चको फैसलाबाट मान्यता पाएको कांग्रेसको विशेष महाधिवेशन र त्यसबाट आएको नयाँ नेतृत्वसमेत पुनरावलोकनको अन्तिम निर्णयसँग जोडिएको छ । पूर्ण इजलासले अघिल्लो फैसला उल्ट्याएमा विशेष महाधिवेशनबाट आएको नेतृत्वको वैधानिकतामाथि प्रश्न उठ्न सक्ने अवस्था देखिएको छ ।

कांग्रेसभित्र भने सर्वोच्चको पछिल्लो आदेशलाई लिएर संस्थापन र संस्थापनइतर पक्षबीच राजनीतिक बहस तीव्र बनेको छ । केन्द्रीय समिति बैठकले अदालतको प्रक्रियासँगै पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक रणनीतिबारे निर्णय गर्ने प्रवक्ता चालिसेले जानकारी दिए ।

Share News