काठमाडौं । राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त र दुई जना सूचना आयुक्त नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ ।
राष्ट्रिय सूचना आयोग पदाधिकारी नियुक्ति सिफारिस समितिको सचिवालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै प्रमुख सूचना आयुक्त एक जना र दुई जना सूचना आयुक्त नियुक्तिका लागि इच्छुक तथा योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो । सूचनाअनुसार दुई जना सूचना आयुक्तमध्ये कम्तीमा एक जना महिला अनिवार्य रूपमा नियुक्त गरिने व्यवस्था गरिएको छ ।
सिफारिस समितिले प्रकाशित सूचनाअनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र निर्धारित ढाँचाको आवेदन फाराम भरी आवश्यक कागजातसहित कार्यालय समयभित्र त्रिपुरेश्वरस्थित राष्ट्रिय सूचना आयोगमा रहेको पदाधिकारी नियुक्ति सिफारिस समितिको सचिवालयमा दरखास्त दर्ता गराउन सक्नेछन् ।
समितिले आवेदनका लागि आवश्यक योग्यता, अनुभव, आवेदन फाराम तथा अन्य विवरण सूचनामै उल्लेख गरिएको जनाएको छ । निर्धारित समयसीमाभित्र प्राप्त आवेदनको अध्ययन तथा मूल्याङ्कनपछि सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम योग्य उम्मेदवार छनोट गरी नियुक्तिका लागि नेपाल सरकारसमक्ष सिफारिस गरिने सचिवालयले जनाएको छ ।
राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त तथा सूचना आयुक्तहरूको पद रिक्त रहेपछि नयाँ पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाइएको हो । आयोगमा हुने नयाँ नियुक्तिलाई सूचनाको हकको प्रभावकारी कार्यान्वयन, सार्वजनिक निकायमा पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धनसँग जोडेर हेरिएको छ ।