काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई उपलब्ध गराइने निःशुल्क उपचार सेवालाई प्रभावकारी बनाउन डा. नवराज जोशीलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकेको छ ।
मन्त्रालयले ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३’ अनुसार विभिन्न अस्पतालसँग समन्वय, सेवा सहजीकरण तथा सूचना आदान–प्रदान व्यवस्थित गर्न उनको जिम्मेवारी तोकेको जनाएको छ ।
उपचारसम्बन्धी समन्वय, सूचना आदान–प्रदान वा सेवा सहजीकरणका लागि ९८५१४६००३७ नम्बरमा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयका अनुसार यस व्यवस्थामार्फत सेवा प्रवाहसँग सम्बन्धित आवश्यक समन्वय, सूचना आदान–प्रदान तथा उपचारसम्बन्धी सहजीकरण एकीकृत रूपमा हुने छ ।
यसबाट लक्षित वर्गका नागरिकलाई उपलब्ध गराइने १० प्रतिशत निःशुल्क शय्या सेवा तथा विपन्न नागरिक उपचार सहायता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।