प्राथमिक र दोस्रो बजार सुधारका केसी र आचार्यको नेतृत्वमा छुट्टाछुट्टै समिति गठन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजार सुधारलाई तीव्रता दिन प्राथमिक र दोस्रो बजार सुधारका लागि छुट्टाछुट्टै संयन्त्र गठन गरेको छ । बोर्डले प्राथमिक बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउने तथा दोस्रो बजारमा नयाँ सेवा विस्तार गर्ने उद्देश्यसहित कार्यदल र समिति गठन गरेको हो ।

दोस्रो बजार सुधारका लागि बोर्डले सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य तथा बोर्डको सोही आर्थिक वर्षको पुँजी बजार नीतिमा उल्लेखित व्यवस्था कार्यान्वयन गर्ने क्रममा मार्जिन कर्जा, एकै दिनको कारोबार, धितोपत्र सापटी तथा उधारो तथा सर्ट बिक्रीलगायतका व्यवस्था लागू गर्न आवश्यक समन्वय र सहजीकरण गर्नेछ ।

समितिमा बोर्डका तीन जना प्रतिनिधिका साथै नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड तथा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका एक-एक जना प्रतिनिधि सदस्य रहेका छन् ।

समितिले मार्जिन कर्जा, एकै दिनको कारोबार, धितोपत्र सापटी तथा उधारो तथा सर्ट बिक्रीका लागि आवश्यक कानुनी, प्राविधिक, सञ्चालन तथा प्रक्रियागत व्यवस्थाबारे सुझाव दिने, चरणबद्ध कार्यान्वयनका लागि आवश्यक तयारी गर्ने तथा आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्थालगायत अन्य निकायसँग सहकार्य गर्ने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार दोस्रो बजारसँग सम्बन्धित सेवा चरणबद्ध रूपमा विस्तार गरिनेछ । पहिलो चरणमा मार्जिन कर्जा, दोस्रो चरणमा एकै दिनको कारोबार, तेस्रो चरणमा धितोपत्र सापटी तथा उधारो र चौथो चरणमा आवरणयुक्त सर्ट बिक्रीको व्यवस्था लागू गरिनेछ । यसका लागि समितिले मार्जिन कर्जासम्बन्धी नियमावलीको मस्यौदामाथि छलफल सुरु गरिसकेको बोर्डले जनाएको छ ।

यस्तै, बोर्डले प्राथमिक बजार सुधारका लागि नियमन विभागका कार्यकारी निर्देशक विनयदेव आचार्यको संयोजकत्वमा सात सदस्यीय प्राथमिक बजार सुधार सहजीकरण कार्यदल पनि गठन गरेको छ ।

कार्यदलमा बोर्डका तीन जना कर्मचारी, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका एक जना प्रतिनिधि, मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार समितिका संयोजक सदस्य रहेका छन् ।

कार्यदलले आवश्यकताअनुसार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, विद्युत् नियमन आयोग, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान), स्टक ब्रोकर एसोसिएसन अफ नेपाल, सिडिएस एन्ड क्लियरिङ लिमिटेडलगायत अन्य सरोकारवाला निकायका विज्ञलाई आमन्त्रण गर्न सक्ने बोर्डले जनाएको छ ।

आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीति अन्तर्गतको नियामकीय सुधार कार्यसूची कार्यान्वयन गर्ने उद्देश्यका साथ गठित कार्यदलको पहिलो बैठक साउन १९ गते बसेर प्राथमिक बजार सुधारका विभिन्न विषयमा छलफल गरेको थियो ।

कार्यदलले प्राथमिक बजार सुधार नीति, धितोपत्रको सार्वजनिक निष्कासन, बोलकबोल विधिबाट मूल्य निर्धारण, निष्कासन तथा बिक्री प्रबन्धक, प्राथमिक निष्कासनको बाँडफाँट, विद्युतीय प्राथमिक निष्कासन प्रणाली, प्राथमिक निष्कासनका योग्यता मापदण्ड, प्राथमिक निष्कासनको मूल्य निर्धारण, संस्थागत तथा मुख्य लगानीकर्ता, आवश्यक परीक्षण तथा प्रमाणीकरण, निष्कासनपछिको अनुगमनलगायत विषयमा अध्ययन गरी आवश्यक सुझाव दिने बोर्डले जनाएको छ ।

Share News