काठमाडौं । साहित्यकार खगेन्द्र संग्रौलाले गत फागुन २१ को संसदीय निर्वाचनमा भेडापन हाबी भएको टिप्पणी गरेका छन् ।
‘समाज र राजनीतिबीचको अन्तरसम्बन्ध’ विषयक कार्यक्रममा बोल्दै उनले गत निर्वाचनमा उम्मेदवार थाहा नपाइकनै बालेन्द्र साह नै उम्मेदवार हो भन्दै मतदान गरेको पाइएको भन्दै यस्तो टिप्पणी गरेका हुन् । नेपाली समाज र वर्तमान मनोविज्ञानमा भेडापन हाबी भएको तर्क गर्दै संग्रौलाले समाजको विवेकहीन भीडतन्त्रलाई राजनीतिक नेताहरूले आफ्नो फाइदाका लागि प्रयोग गर्ने गरेको दाबी गरे ।
साहित्यकार संग्रौलाले नेपाली समाजमा तार्किकताको अभाव रहेको र यसमा एक प्रकारको ‘भेडोपन’ हाबी भएको तर्क गरे । इतिहासको सन्दर्भ जोड्दै उनले पहिलो संविधानसभा निर्वाचनमा माओवादीको पक्षमा देखिएको अभूतपूर्व लहर र दोस्रो निर्वाचनमा त्यो जनमानस एकाएक हराएको प्रसङ्ग उल्लेख गर्दै गत फागुन २१ को निर्वाचनको अनुभव सुनाउँदै चितवन र नवलपरासीका मतदाताहरूमा चरम अन्योल देखिएको बताए । संग्रौलाकाअनुसार धेरै मतदाताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’मा मतदान गरेपनि उम्मेदवारका रूपमा बालेन्द्र साहलाई बुझेका थिए ।
उनकाअनुसार चितवन र नवलपरासीभरिका मतदाताले घण्टीमा भोट त हाले तर उम्मेदवार को हो भन्दा बालेन भन्ने गरेका थिए । कर्मको आधार र तार्किकतामा विचार नगर्ने यस्तो प्रवृत्तिलाई उनले गणेशमान सिंहले प्रयोग गरेको ‘भेडा’ संज्ञासँग तुलना गरे । नेतृत्वको परिभाषा गर्दै संग्रौलाले सफल नेतामा वक्तृत्वकला र आकर्षक एजेण्डा हुनुपर्ने उनको भनाई थियो । नेताले आफ्ना एजेण्डा वा भ्रमलाई यसरी प्रश्तुत गर्छ कि सर्वसाधारण उसको वरिपरि केन्द्रित हुन्छन् । नेपालको सन्दर्भमा मदन भण्डारीलाई उनले ‘करिस्मेटिक’ नेताको रूपमा चित्रण गरे। जसमा वक्तृत्व, तर्कशीलता र आक्रामकताको अद्भुत मिश्रण थियो ।
पछिल्लो समय उदाएका नेता रवि लामिछानेको प्रसङ्गमा टिप्पणी गर्दै संग्रौलाले भ्रम र यथार्थको सम्मिश्रणबाट आफ्नो वरिपरि ठूलो भीड जम्मा गर्न सफल भएको टिप्पणी गरे । यद्यपि, लामिछानेको कानूनी जटिलता (नागरिकता/राहदानी मुद्दा)का कारण उनले कार्यकारी प्रमुखको भुमिकामा बस्न नमिल्ने परिस्थिति सिर्जना भएको संग्रौलाको विश्लेषण छ। सोही रिक्तता र जनअपेक्षाका कारण बालेन्द्र साह एक विकल्प वा ‘कामचलाउ’ पात्रका रूपमा अगाडि आएको संग्रौलाले दाबी गरे ।
समाज र राजनीतिबीचको अन्तरसम्बन्धमा केन्द्रित कार्यक्रममा संग्रौलाले नेपाली समाजले विवेकपूर्ण निर्णय लिन नसकेसम्म राजनीतिको स्वरूपमा ठोस परिवर्तन आउन कठिन रहेको जिकिर गरे ।