काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख रुपैयाँ घुससहित भूमि प्रशासन कार्यालय, लगनखेलका तीन नायब सुब्बासहित पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाल रहेका छन् ।
अख्तियारका अनुसार उनीहरूले जग्गाको बकसपत्र गराइदिने काममा सेवाग्राहीलाई दुःख हैरानी दिई घुस मागेको भन्ने उजुरी परेको थियो ।
उक्त सूचनाका आधारमा टंगालबाट खटिएको अख्तियारको टोलीले सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
टोलीले ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट घुस रकमसहित स्रोत नखुलेको २४ हजार ८९० रुपैयाँ पनि बरामद गरेको जनाएको छ ।
अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।