मधेशमा चालु गठबन्धन यथावत्, अर्को निर्देशन नआउँदासम्म सरकारलाई निरन्तरता दिने सहमति

काठमाडौं । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ । नेकपा नेता युवराज भट्टराईका अनुसार केन्द्रबाट अर्को निर्देशन नआउँदासम्म यही गठबन्धन कायम रहनेछ ।

बिहीबार मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादव र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता तथा अर्थमन्त्री युवराज भट्टराईबीच भएको छलफलमा वर्तमान सत्ता गठबन्धनलाई यथावत् कायम राख्ने सहमति भएको हो ।

छलफलमा प्रदेश सरकारको स्थायित्व, विकास–निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउने तथा गठबन्धन दलहरूबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको सहभागी नेता भट्टराईले जानकारी दिए ।

संघीय राजनीतिक घटनाक्रमका बीच विभिन्न प्रदेशमा सत्ता समीकरण परिवर्तनको चर्चा भइरहेका बेला मधेश प्रदेशमा भने गठबन्धनलाई निरन्तरता दिने निर्णयले प्रदेश सरकार तत्काल परिवर्तन नहुने संकेत दिएको छ ।

Share News