धर्म सोध्दै अमेरिकामा भारतीयमाथि १५ पटक चक्कु प्रहार

सांकेतिक तस्बिर ।

काठमाडौं । अमेरिकाको युटा राज्यमा एक भारतीय नागरिकमाथि धर्मका आधारमा चक्कु प्रहार गरिएको आरोप लागेको छ । मिडिया रिपोर्टका अनुसार ती व्यक्तिमाथि करिब १५ पटक चक्कु प्रहार गरिएको थियो ।

घटना सोमबार दिउँसो वेस्ट भ्याली सिटीस्थित भ्याली फेयर मलमा भएको हो । मलमा कार्यरत भारतीय नागरिक सैयद सोहैलुद्दीनमाथि पिटर माइकल लार्सनले आक्रमण गरेको आरोप छ ।

समाचार संस्था पीटीआईका अनुसार आक्रमण गर्नुअघि आरोपितले सोहैलुद्दीनसँग उनको धर्मबारे सोधेको बताइएको छ ।

प्रहरीले पिटर माइकल लार्सनलाई हत्याको प्रयास तथा प्रतिबन्धित खतरनाक हतियार बोकेको आरोपमा पक्राउ गरेको छ ।

एबीसी न्यूजका अनुसार अदालतका अभिलेख उद्धृत गर्दै प्रकाशित समाचारमा आरोपितले प्रहरीलाई धार्मिक आस्थाका कारण आफूले पीडितलाई निशाना बनाएको बयान दिएको उल्लेख छ ।

घाइते सोहैलुद्दीनलाई तत्काल अस्पताल लगिएको थियो, जहाँ उनको शल्यक्रिया गरिएको छ । आक्रमण रोक्न प्रयास गर्ने आसपासका मानिसहरूले आरोपितलाई कुटपिट गरेपछि उनी पनि उपचारका लागि अस्पतालमा भर्ना भएका छन् ।

सान फ्रान्सिस्कोस्थित भारतीय महावाणिज्यदूतावासले युटामा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

महावाणिज्यदूतावासले एक्समार्फत जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामी पीडितका परिवार र साथीभाइसँग सम्पर्कमा छौं र आवश्यक सबै सहयोग गर्न तयार छौं । साथै स्थानीय अधिकारीहरूसँग निरन्तर समन्वयमा रहेर घटनाको नजिकबाट निगरानी गरिरहेका छौं ।

Share News