करार, अस्थायी र ज्यालादारी कर्मचारीले गरे अर्थ मन्त्रालय घेराउ

करार नथप्ने निर्णयविरुद्ध आन्दोलन

काठमाडौं । सरकारले करार, अस्थायी तथा ज्यालादारी कर्मचारीहरूको करार अवधि नथप्ने निर्णय गरेपछि प्रभावित कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

सरकारको निर्णयको विरोध गर्दै करार, अस्थायी तथा ज्यालादारी कर्मचारीहरूले मंगलबार (आज) अर्थ मन्त्रालय घेराउ गरेका हुन् । 

आन्दोलनकारीहरूले करार अवधि नथप्ने निर्णय तत्काल फिर्ता लिन, रोजगारीको निरन्तरता सुनिश्चित गर्न तथा आफूहरूको सेवासम्बन्धी माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

अर्थ मन्त्रालय परिसरमा भेला भएका कर्मचारीहरूले सरकारको निर्णयले हजारौं कर्मचारीको रोजगारी संकटमा परेको भन्दै नाराबाजीसमेत गरेका थिए । 

उनीहरूले लामो समयदेखि विभिन्न सरकारी निकायमा काम गर्दै आए पनि एकपक्षीय रूपमा सेवा समाप्त गर्ने निर्णय अन्यायपूर्ण भएको बताएका छन् ।

सरकारले हालै करार, अस्थायी तथा ज्यालादारी कर्मचारीहरूको करार अवधि नथप्ने नीति अघि बढाएपछि कर्मचारीहरूले चरणबद्ध आन्दोलन सुरु गरेका हुन् ।

आन्दोलनका कारण केही समय अर्थ मन्त्रालय आसपासको क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

कर्मचारीहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन् ।

nullnull

Share News