रास्वपाको दोहोरो नीतिः प्रेस स्वतन्त्रताको पक्षमा विज्ञप्ति, आफ्नै नेताको गाडीबारे मौन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाको कडा भर्त्सना गर्दै निष्पक्ष छानबिनको माग गरेको छ । 

तर, ती गाडीमध्ये एक आफ्नै पार्टीका नेता रवि जयसवालको रहेको खुलेपछि रास्वपाको विज्ञप्तिमाथि नै प्रश्न खडा गराएको छ ।

महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने, प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने तथा त्रास फैलाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने उल्लेख गरिएको छ । 

तर, सञ्चारगृह बाहिर भेटिएका तीन सवारीमध्ये कान्तिपुर मिडिया समूहको कार्यालयको गेटमा छाडिएको कालो रंगको बा प्र ०१–०३४ च ८४८० नम्बरको ‘जेको जे-सिक्स’ गाडी रास्वपाका नेता रवि जयसवालको रहेको खुलेको छ । 

जयसवाल रास्वपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका सदस्य हुन् ।

यद्यपि पार्टीको विज्ञप्तिमा भने आफ्नै नेताको नाम जोडिएको घटनाबारे कुनै टिप्पणी गरिएको छैन । 

गाडी पार्टीका नेताको रहेको तथ्य सार्वजनिक भइसके पनि त्यसबारे पार्टीले कुनै स्पष्टीकरण नदिनुले रास्वपामाथि दोहोरो मापदण्ड अपनाएको आरोप लाग्न थालेको छ ।

सार्वजनिक रूपमा प्रेस स्वतन्त्रताको पक्षमा उभिने र आफ्नै नेताको संलग्नताबारे मौन बस्ने व्यवहारले पार्टीको विश्वसनीयतामै प्रश्न उठाउने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

Share News