काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंकले स्थापनाको ४२औं वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणासहित कृत्रिम बौद्धिकता (एआई) मा आधारित भविष्यको बैंकिङ प्रणालीको नेतृत्व गर्ने प्रतिबद्धता जनाएको छ ।
बैंकले परम्परागत बैंकिङको सीमाभन्दा माथि उठेर प्रविधिमैत्री, समावेशी र ग्राहककेन्द्रित वित्तीय सेवा विस्तार गर्ने लक्ष्य सार्वजनिक गरेको हो ।
वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले ‘विश्वास हाम्रो सम्पत्ति, नवप्रवर्तन हाम्रो डीएनए’ रहेको उल्लेख गर्दै नबिलले परिवर्तनको प्रतीक्षा नगरी सधैं त्यसको नेतृत्व गरेको बताए ।
उनले एआईको प्रयोगमार्फत बैंकिङ सेवालाई अझ स्मार्ट, व्यक्तिगत र सुरक्षित बनाइने तथा यसले द्रुत कर्जा प्रवाह, प्रभावकारी जोखिम व्यवस्थापन, उत्कृष्ट ग्राहक अनुभव र वित्तीय समावेशीकरणमा टेवा पुग्ने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले नबिल केवल बैंकिङ सेवा दिने संस्था नभई ग्राहकका सपना र सफलताको यात्रामा साथ दिने भरोसायोग्य साझेदार रहेको बताए ।
उनले बदलिँदो बैंकिङ आवश्यकता र दिगो विकासलाई ध्यानमा राख्दै नबिललाई ‘नेपालको सबैभन्दा विश्वासिलो, भरपर्दो र भविष्यका लागि तयार बैंक’ बनाउने लक्ष्य दोहोर्याए ।
बैंकले कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड, लघु, घरेलु, साना तथा मझौला उद्योग (एमएसएमई) मा ४५ अर्ब ९२ करोड तथा पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।
४२ वर्षको अवधिमा बैंकको वित्तीय आकार उल्लेखनीय रूपमा विस्तार भएको छ । आर्थिक वर्ष २०४१/४२ मा २ करोड ८० लाख रुपैयाँ रहेको नेटवर्थ चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने खुद नाफा १० लाखबाट बढेर ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
त्यस्तै, निक्षेप ५ खर्ब ८८ अर्ब ८५ करोड, कर्जा प्रवाह ४ खर्ब ६४ अर्ब १० करोड र कुल सम्पत्ति ७ खर्ब १८ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।
हाल बैंकले देशभर २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टर तथा २,४६९ कर्मचारीमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले ४२ दिनसम्म सञ्चालन हुने विशेष ग्राहकमुखी योजना पनि सार्वजनिक गरेको छ।
यसअन्तर्गत सडक विस्तारबाट प्रभावित हेटौंडा र वीरगञ्जका सेवाग्राहीका लागि पुनःनिर्माण घर कर्जा योजना, लकर सेक्युरिटी डिपोजिटमा ४२ प्रतिशत छुट, ई–पेमेन्ट गेटवेमा ५० प्रतिशतसम्म छुट तथा क्रेडिट–डेबिट कार्ड सेवामा विशेष सहुलियत प्रदान गरिने बैंकले जनाएको छ ।