वरिष्ठहरू बाइकट, भोजपुरे कार्कीको काँधमा ब्यूरोक्रेसी

को हुन् मुख्यसचिव गोविन्द कार्की ?

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव पदमा नियुक्त गरेको छ । बुधबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता  तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

हालका मुख्यसचिव सुमनराज अर्याल अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले कार्कीलाई नयाँ मुख्यसचिवका रूपमा नियुक्त गरेको हो । अर्याल करिब सात महिना मुख्यसचिव रहेर असार २६ गते उमेरहदका कारण अवकाशमा जान लागेका हुन् ।

कार्की दुई वर्ष अगाडिमात्रै सहसचिवबाट सचिवमा बढुवा भएका थिए । उनी २०८१ भदौमा सहसचिवबाट सचिवमा बढुवा भएका हुन् । 

नवनियुक्त मुख्यमन्त्री कार्की प्रधानमन्त्री कार्यालयमा शासकीय मामिला हेर्थे । प्रधानमन्त्री कार्यालयमा पुष्कर सापकोटा (कानुन), किरणराज शर्मा (विकास व्यवस्थापन) र खगेन्द्रप्रसाद नेपाल पनि सचिव रहेका छन् ।

कार्की सहसचिव हुँदा बागमती प्रदेश सरकारको कायममुकायम प्रमुख सचिवका रूपमा कार्यरत थिए ।

भोजपुरमा जन्मिएका कार्की ल्हासाको महावाणिज्यदूतसमेत भइसकेका छन् । उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै बागमती प्रदेशको कायममुकायम प्रमुख सचिव पछि सचिव बनेका थिए । २०२७ सालमा जन्मिएका कार्की हाल ५६ वर्षका भए । 

उसो त मुख्यसचिवका लागि कार्कीभन्दा वरिष्ठ सचिवहरू मुख्यसचिवको लागि दाबेदार थिए । उच्च प्रशासनिक स्रोतका अनुसार सचिवहरू किरण शर्मा, राजकुमार श्रेष्ठ, डिल्लीराम शर्मा, हरिप्रसाद मैनाली र गोपाल सिग्देल मुख्यसचिवका सबैभन्दा बलिया दाबेदारका थिए । 

तर, सरकारले जुनियर कार्कीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । मुख्य सचिवको कार्कीको काँधमा प्रशासनिक सुधार र सरकारी संयन्त्रको सञ्चालन सँगै निजामती सेवाको इतिहास जोगाउने चुनौती थपिएको छ । 

Share News