काठमाडौं । कैलालीस्थित इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीको अभिव्यक्ति विवादित बनेको छ । उनले विद्यालयको एक कार्यक्रममा बोलेको भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेकाे हाे ।
उनले विद्यार्थीको अगाडि उभिएर प्रधानमन्त्री बालेन्द्र शाहको नाम लिएर केही कुराहरू राखेका छन् । चौधरीले भनेका छन्, 'हामी बालेनको पुलिस पनि होइन, नेपाल प्रहरी हाे, अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने नेपाल प्रहरी हो । केपी ओलीलाई पनि थुन्ने यही नेपाल प्रहरी हो । मन परे ताली बजाउनूहोला ।'
डीएसपी चौधरीले प्रहरी सेवामा आफू राजनीतिक पहुँच वा कुनै सिफारिसका आधारमा नभई प्रतिस्पर्धात्मक लोकसेवा परीक्षामार्फत प्रवेश गरेको पनि बताएका छन् ।
उनलले भनेका छन्, 'म भोट हालेर वा टीका लगाएर आएको होइन । यो बर्दी राष्ट्रपतिले पनि लगाउन पाउनुहुन्न । म लोकसेवा आयोगको खुला प्रतिस्पर्धाबाट १०२ जनामध्ये छनोट भएर आएको हुँ । हामी मेरिटका आधारमा छानिएका प्रहरी हौँ, दारु-भात खाएर आएका होइनौं ।'
नेपाल प्रहरी कुनै व्यक्ति, दल वा सरकारको नभई संविधान र कानुनको शासनअनुसार सञ्चालन हुने संस्था भएको बताएका छन् ।
एक सार्वजनिक कार्यक्रममा बोल्दै डीएसपी चौधरीले प्रहरी संगठनको मूल दायित्व अन्यायमा परेकालाई न्याय दिलाउने र कानुनको निष्पक्ष कार्यान्वयन गर्ने रहेको उल्लेख गर्दै आफूहरू कुनै राजनीतिक नेतृत्वको प्रहरी नभएको स्पष्ट पारेका हुन् ।
उनको अभिव्यक्तिलाई लिएर विकासन्युजले नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेलाई प्रश्न गरेको छ । प्रहरी अधिकृतले बहालवाला प्रधानमन्त्री बालेनको नाम लिएर सार्वजनिक समारोहमा बोल्न पाइन्छ ? भन्ने हाम्राे जिज्ञासामा काफ्लेले कुनै पनि प्रहरी अधिकृतले कसैको नाम लिएर बोल्न नपाइने बताए ।
उनले ती प्रहरी अधिकृतले बोलेको वास्तविक कुरा के हो त्यस बारेमा बुझ्ने बताएका छन् ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक नरेन्द्र चन्दले विद्यालयमा अभिव्यक्ति दिने व्यक्तिलाई प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गरिने बताए । कुनै सामुदायिक साझेदारी कार्यक्रममा बोलेको हुन सक्ने उनले बताएका छन् ।
‘कहाँ बोलेको र किन तथा कुन सन्दर्भमा बोलेको यस बारेमा बुझ्नेछौ,’ उनले भने,’ प्रहरी भएर प्रहरीले गर्ने काम कर्तव्यको शिलशिलामा मात्र बोल्न पाइन्छ।'
उनले प्रहरीले बोलेको वास्तविक कुरा के हो बुझेपछि मात्र आवश्यक प्रक्रिया अगाडि बढ्ने बताए ।