काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघ्चीले इरानविरुद्ध धम्की जारी रहुन्जेल अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता सुरु नहुने चेतावनी दिएका छन् ।
अराघ्चीको यो प्रतिक्रिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता नभए आफूले यो सम्पूर्ण अभियानलाई अन्तिम निष्कर्षसम्म पुर्याएरै छाड्ने चेतावनी दिएपछि आएको हो ।
अराघचीले मंगलबार (आज) भने, ‘अमेरिकासँग भएको समझदारी (एमओयू) को धारा १३ पूर्ण रूपमा स्पष्ट र निर्विवाद छ । जबसम्म इरानविरुद्ध धम्की जारी रहन्छ, अन्तिम सम्झौतामा पुग्नका लागि वार्ता सुरु हुने छैन । तपाईंहरूले हस्ताक्षर गर्नुभएको प्रतिबद्धतामा अडिग रहनुहोस् ।’
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो पछिल्लो अभिव्यक्तिमा इरानलाई चेतावनी दिँदै भनेका थिए, ‘या त सम्झौता हुन्छ, नभए हामी यो विषयलाई पूर्ण रूपमा टुंग्याउनेछौं ।’
अराघ्चीले आफ्नो अर्को वक्तव्यमा इरानका सर्वोच्च नेता अलि खामेनेईको अन्त्येष्टिको प्रसंग उल्लेख गर्दै भने, ‘लाखौं इरानीहरू राष्ट्रिय एकता र ऐक्यबद्धताका साथ आफ्ना नेताप्रति श्रद्धाञ्जलि अर्पण गर्न एकत्रित भएका छन् । इरानी जनता र हाम्रो बहादुर सेना कुनै पनि प्रकारको धम्की वा जोखिमसँग डराउँदैन ।’