माइक्रोसफ्टले ४ हजार ८०० कर्मचारी कटौती गर्ने, सबैभन्दा बढी असर एक्सबक्समा

काठमाडौं । विश्वप्रसिद्ध सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले ४ हजार ८०० कर्मचारीको जागिर कटौती गर्ने घोषणा गरेको छ ।

यो संख्या कम्पनीका कुल कर्मचारीको करिब २.१ प्रतिशत हो । यस कटौतीको सबैभन्दा ठूलो असर कम्पनीको एक्सबक्स डिभिजनमा पर्ने बताइएको छ ।

माइक्रोसफ्टकी कार्यकारी उपाध्यक्ष एमी कोलम्यानले कर्मचारीहरूलाई पठाएको सन्देशमा द्रुत गतिमा परिवर्तन भइरहेको सूचना प्रविधि उद्योगका कारण कम्पनीले ग्राहकलाई बढी लाभ पुर्याउन सक्ने क्षेत्रहरूमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेकी छन् ।

यस पुनर्संरचनाअन्तर्गत एक्सबक्स डिभिजनबाट तत्काल १ हजार ६०० भन्दा बढी जागिर कटौती गरिनेछ ।

हालै मात्र एक्सबक्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेकी आशा शर्माले कर्मचारीहरूलाई पठाएको सन्देशमा कम्पनीले ‘एक्सबक्सको इतिहासकै सबैभन्दा ठूलो पुनर्संरचना प्रक्रिया सुरु गरिरहेको’ बताएकी छन् ।

उनले आगामी एक वर्षभित्र थप १ हजार ६०० कर्मचारीको जागिर समाप्त गरिने जानकारी पनि दिएकी छन् ।

यसका साथै एक्सबक्सअन्तर्गत रहेका चार गेम विकास स्टुडियो कम्पल्सन गेम्स, डबल फाइन प्रोडक्सन्स, निन्जा थ्योरी र अनडेड ल्याब्लाई पनि कम्पनीको पुनर्संरचना योजनाअन्तर्गत अलग गरिनेछ ।

आशा शर्माले भनिन्, ‘यी परिवर्तनहरू एक्सबक्सलाई सानो बनाउन होइन, अझ ठूलो भविष्यका लागि तयार बनाउन गरिएको हो ।’

‘इतिहासमा यस्ता धेरै उदाहरण छन् जहाँ कम्पनीहरूले लामो समयसम्म टिकिरहनुलाई नै आफ्नो भविष्यको ग्यारेन्टी ठाने । हामी त्यस्तो गल्ती गर्नेछैनौं,’ उनले थपिन् ।

Share News