काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयले विज्ञान प्रविधिको क्षेत्रमा हालसम्मकै ठूलो रकम छुट्याएको बताएका छन् । सोमबार राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले विज्ञान तथा प्रविधिका क्षेत्रमा यसअघि कहिल्यै यति ठूलो बजेट विनियोजन नभएको बताए । यसअघि १ अर्ब रुपैयाँसम्म छुट्याएको र सो रकमसमेत आवश्यक कानुनी व्यवस्था नहुँदा खर्च हुन नसकेको बताए । सोही कारण हाल धेरै मान्छेलाई यो रकम कहाँ खर्च होला ? भन्ने उत्सुकता बढेको उनको भनाइ छ । तर ४ अर्ब रुपैयाँका विज्ञान तथा प्रविधि क्षेत्रमा एकदमै कम रकम भएको जानकारी दिए । यद्यपि अहिलेलाई भने यो रकम पर्याप्त रहेको उनको भनाइ छ ।
खर्च गर्ने कार्यक्रम निर्धारण गर्न बाँकी रहेकाले विनियोजित ४ अर्ब रुपैयाँमध्ये ३ अर्ब ४० करोड रुपैयाँ अबण्डामा राखिएको जानकारी दिए । मन्त्री पुनका अनुसार मन्त्रालयका अघिल्ला कार्यक्रम सञ्चालनका लागि ६० करोड रुपैयाँ छुट्याइएको छ भने बाँकी ३ अर्ब ४० करोड रुपैयाँको खर्च योजना ऐन तथा नियमावली बनेपछि मात्रै तय गरिनेछ ।
उनका अनुसार मन्त्रालयले अहिले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी ऐन र नियमावली तयार गर्ने काम अघि बढाएको छ । ती कानुनी आधार तयार भएपछि मात्रै अबण्डामा रहेको बजेट कार्यान्वयनमा ल्याइने जानकारी दिए ।
उनले भने, ‘सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई ४ अर्ब रुपैयाँ छुट्याएको छ, यो भनेको पुँजीगत खर्चको एक प्रतिशत हो । यसमा पहिलेदेखि नै सञ्चालन भइरहेका केही कार्यक्रममा ६० करोड रुपैयाँ छुट्याइएको छ, बाँकी ३ अर्ब ४० करोड रुपैयाँ अबण्डामा राखिएको छ । यो बजेट जेठ १५ गते आउँदाखेरि के गर्ने, कसो गर्ने भन्ने थाहा नै थिएन, त्यही भएर अबण्डामा राखिएको हो ।’
उनले युवाहरूलाई विज्ञान तथा नवप्रवर्तनको क्षेत्रमा लाग्न मन्त्रालयले प्रोत्साहन गर्ने बताए । स्थानीय सरकार र प्रदेश सरकारले पनि विज्ञान प्रविधिको क्षेत्रमा बजेट छुट्याउनुपर्नेमा जोड दिए । पूर्वाधारको विकासले मात्रै देश विकास नहुने बताए ।
देश विकासका लागि अर्थतन्त्र मजबुत बनाउनुपर्ने र अर्थतन्त्रको आकार बढाउन खोज, अनुसन्धान तथा नवप्रवर्तकको क्षेत्रमा लगानी गर्न आवश्यक रहेको उनको भनाइ छ । विज्ञानमा गरिएको खर्चलाई लगानीको रूपमा बुझ्नुपर्नेमा उनले जोड दिए । विज्ञानमा लगानी नगरेका कारण नै नेपाल पछाडि परेको उनको दाबी छ । विकसित सबै देशहरूले विज्ञान तथा प्रविधि क्षेत्रमा लगानी गरेका कारण नै उनीहरू विकसित भएको उनले बताए ।