काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले आफ्नो सेवा प्रवाहलाई थप पारदर्शी, छिटो, उत्तरदायी र प्रविधिमैत्री बनाउन ‘हेलो एनएमसी’ डिजिटल जिज्ञासा, गुनासो, उजुरी तथा सुझाव पोर्टल औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।
काउन्सिलले जारी गरेको सार्वजनिक सूचनाअनुसार अब सर्वसाधारण नागरिक तथा काउन्सिलमा दर्ता भएका चिकित्सकहरूले कार्यालयमा प्रत्यक्ष उपस्थित नभई अनलाइनमार्फत आफ्ना जिज्ञासा, गुनासा, उजुरी तथा सुझाव दर्ता गर्न सक्नेछन् । काउन्सिलले हेलो एनएमसी’ डिजिटल पोर्टलमा परिषद्को कामकारबाही, प्रशासनिक सेवा वा चिकित्सा क्षेत्रसँग सम्बन्धित कुनै पनि विषयमा पोर्टलमार्फत गुनासो, उजुरी वा सुझाव पेश गर्न सकिने व्यवस्था गरिएको छ ।
चिकित्सक र सर्वसाधारण दुवैका लागि छुट्टाछुट्टै व्यवस्था
डिजिटल पोर्टलमा दर्तावाला चिकित्सकहरूले http://doctor.nmc.org.np मा लगइन गरी आफ्नो व्यक्तिगत खातामार्फत व्यावसायिक तथा प्रशासनिक विषयका गुनासा वा उजुरी दर्ता गर्न सक्नेछन्। भने सर्वसाधारणले नेपाल मेडिकल काउन्सिलको आधिकारिक वेबसाइट http://www.nmc.org.np मा सूचनामा समावेश गरिएको क्युआर कोड स्क्यान गरेर पनि अनलाइन फाराम भर्न सक्नेछन्।
त्यस्तै आवश्यक प्रमाण तथा कागजातसहित लmअ२लmअ।यचन।लउ इमेलमार्फत समेत उजुरी वा सुझाव पठाउन सकिने काउन्सिलले जनाएको छ ।
गोपनीयता र ट्र्याकिङको सुविधा
काउन्सिलले उजुरीकर्ताको गोपनीयतालाई विशेष प्राथमिकता दिएको जनाएको छ । उजुरी दर्ता गर्ने व्यक्तिले आफ्नो परिचय खुलाएर वा नाम गोप्य राखेर पनि उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । त्यस्तै प्रत्येक उजुरी दर्तापछि प्रणालीले स्वतः ’युनिक ट्र्याकिङ नम्बर उपलब्ध गराउनेछ । सो नम्बरको आधारमा उजुरीको प्रगति तथा अवस्था एसएमएस एसएमएस र इमेल मार्फत निरन्तर जानकारी गराइने काउन्सिलले जनाएको छ।
नेपाल मेडिकल काउन्सिलले यस डिजिटल प्रणालीबाट प्राप्त हुने जिज्ञासा, गुनासा, उजुरी तथा रचनात्मक सुझावहरूको उचित सम्बोधन गर्दै आफ्नो सेवालाई अझ प्रभावकारी, जवाफदेही र पारदर्शी बनाउने प्रतिबद्धता जनाएको छ ।