नेपाल टेलिकमको सिमकार्ड अब हुलाकमार्फत घरमै पुग्ने

काठमाडौं । नेपाल टेलिकमको सिमकार्डसहित विभिन्न सेवा सामग्री अब हुलाक सेवामार्फत ग्राहकको घरमै उपलब्ध हुने भएकाे छ ।

यसका लागि नेपाल टेलिकम र हुलाक सेवा विभागबीच बिहीबार सम्झौता भएको छ । सम्झौताअनुसार आगामी साउन १ गतेदेखि टेलिकमका सिमकार्डसहित आवश्यक कागजात, पत्र तथा दूरसञ्चार सेवामा प्रयोग हुने विभिन्न सामग्री हुलाकमार्फत ग्राहकसम्म पुर्याइनेछ ।

सम्झौतापत्रमा नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि निमित्त प्रबन्ध निर्देशक डंगोलले ग्राहकलाई कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता कम गर्दै घरमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ टेलिकमले सेवा विस्तार गरिरहेको बताइन् । हुलाक सेवा विभागसँगको सहकार्यबाट सेवाग्राही थप लाभान्वित हुने विश्वास पनि उनले व्यक्त गरिन् ।

हुलाक सेवा विभागकी महानिर्देशक पंगेनीले सरकारी सेवा घरदैलोमै पुर्याउने लक्ष्यअनुरूप विभागले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै नेपाल टेलिकमसँगको सहकार्यले सेवाग्राहीलाई अझ प्रभावकारी र सहज सेवा उपलब्ध गराउन मद्दत पुग्ने बताइन् ।

दुवै सरकारी संस्थाबीचको सहकार्यले हुलाक सेवाको देशव्यापी सञ्जाल प्रयोग गरी नेपाल टेलिकमका सेवा सामग्रीको वितरणलाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ ।

Share News