आजको मौसमले बढायो दोहोरो चुनौती, एकातिर भारी वर्षा, अर्कोतिर तातो लहर

काठमाडौं । हाल नेपालको कोशी प्रदेशका केही भू-भागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भू-भागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ ।

विभागका अनुसार कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने तराई भू-भागमा मुख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । अन्य तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश र अन्य हिमाली र पहाडी भू-भागमा आंशिक बादल तथा अन्य तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

मधेस प्रदेशमा एक-दुई स्थान र कोशी प्रदेशको तराईका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भाग तथा कोशी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

Share News