कम्बोडियामा रहेका नेपालीलाई ६ दिनभित्र फर्कन निर्देशन

फाइल तस्विर

काठमाडौं । कम्बोडियामा रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन थाइल्याण्डस्थित नेपाली दूतावासले निर्देशन दिएको छ ।

दूतावासले कम्बोडियामा रहेका नेपालीलाई कनेक्टिङ फ्लाइटसहितको टिकटको व्यवस्था गरी १२ जुनभित्र नेपाल फर्किन निर्देशन दिएको हो ।

नेपालमा रहेका परिवारजन तथा आफन्तले कम्बोडियामा रहेका नेपालीलाई चाँडै फर्काउने व्यवस्था मिलाउन दूतावासले अनुरोधसमेत गरेको छ । 

‘विभिन्न प्रलोभनमा परी कानुनी आधार बिना कम्बोडियामा लुकिछिपि बस्ने नेपालीले कम्बोडियाको नयाँ कानुनी व्यवस्था अनुसार पक्राउ परेमा कठिन कानुनी सजाय व्यहोर्नु पर्ने अवस्था रहेको छ,’ दूतावासले बताएको छ ।

कम्बोडियामा भिसा नवीकरण नगरी बसिरहेका ६०२ जना नेपाली नागरिकहरूका लागि कम्बोडिया सरकारबाट भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गराइ नेपाल फर्कन सहजीकरण गरिएको थियो ।

इमेल, फोन तथा ह्वाट्सएप मार्फत सम्पर्क गर्दा आजसम्म ६६ जना नेपाली फर्केका छैनन् ।

Share News