काठमाडौं । नेपाल र भारत सरकारबीच क्रसबोर्डर पेमेन्ट सम्झौता कार्यान्वयन गर्ने निर्णय भएको छ । तीन वर्षअघि नेपाल र भारतबिच भएको क्रसबोर्डर पेमेन्ट सम्झौता अहिले कार्यान्वयन हुने भएको हो । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशीमन्त्री एस. जयशंकरको भेटवार्तामा क्रस बोर्डर पेमेन्ट कार्यान्वयन गर्ने सहमति भएको हो ।
नयाँदिल्लीस्थित नेपाली दूतावासले विज्ञप्ति नै जारी गरेर क्रसबोर्डर पेमेन्टको कार्यान्वयन गर्ने घोषणा गरेको हो । विज्ञप्तिका अनुसार सन् २०२३ जुनमा नेपाल क्लियरिङ हाउस लिमिटेड र नेसनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डियाबीच सम्पन्न समझदारीअनुसार व्यक्ति-व्यक्ति (पिटुपी) सीमा पार भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने सम्झौता भएको उल्लेख गरेको छ ।
अहिले नेपाल–भारतबीच सीमापार व्यक्तिगत विप्रेषणलाई सहज बनाउन मन्त्रीद्वयले संयुक्त रूपमा भारतको ‘युनिफाइड पेमेन्ट्स इन्टरफेस’ (युपिआई) र नेपालको ‘नेशनल पेमेन्ट्स इन्टरफेस’ (एनपीआई) बीच ‘पियर–टु–पियर’ (पीटुपी) आबद्धताको भएको हो ।
तत्कालीन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएकोबेला उक्त सम्झौता भएको थियो । तर, उक्त परियोजना कार्यान्वयनमा आउन सकेको थिएन । अहिले दुई देशबीच कार्यान्वयन गर्ने सहमति भएको हो ।

अब नेपालीले भारतमा र भारतीयले नेपालमा अनलाइन रुपमै कारोबार गर्न सक्नेछन् । यसले अनलाइन, मोबाइल बैंकिङ तथा क्यूआर कोडमार्फत पनि भारत–नेपालबीच कारोबार हुनेछ । प्रतिपटक १५ हजार र प्रतिमहिना दुई लाख भारतीय रुपैयाँसम्म पठाउन सकिनेछ । उसो त अहिले पनि केही बैंकहरुले यो सेवा दिइरहेका छन् ।
आइतबार मात्रै नबिल बैंकले नेपाल–भारत–क्रस बोर्डर रेमिट्यान्स सेवा सुरु गरेको छ । बैंकले पर्सन टु पर्सन (पीटूपी) रेमिट्यान्स सेवा सुरु गरेको हो । यस सेवामार्फत ग्राहकले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन र प्राप्त गर्न सक्नेछन् ।
यस सेवाअन्तर्गत नबिल बैंकमा खाता भएका भारतीय नागरिकले अब आफ्नो मोबाइल बैंकिङ एप ‘एनबैंक’ प्रयोग गरी भारतमा रहेका आफ्ना परिवार तथा साथीभाइलाइ तत्काल पैसा पठाउन सक्नेछन् । नेपाली तथा भारतीय दुवै नागरिकले नेपालमा रहेका नबिल बैंक प्रयोगकर्तालाई सजिलै र छिटो रकम पठाउन सक्ने व्यवस्था भएको छ ।
यस्तै, ग्लोबल आइएमई, माछापुच्छ्रे, एभरेष्ट र प्रभु, मुक्तिनाथ लगायत आधा दर्जन बैंकले क्रस बोर्डर कारोबार सेवा दिइरहेका छन् ।