जेठ २२ देखि नेपालकै ठूलो विद्युतीय ‘प्रदर्शनी फिन इलेक्ट्रो-टेक २०२६’ आयोजना हुँदै

काठमाडौं । नेपालकै विद्युतीय तथा ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रदर्शनी ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औं संस्करण आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ । 

नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा फिन इलेक्ट्रो–टेक २०२६ हुन लागेको हो।

यस प्रदर्शनीले नेपालको विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रको विकास र औद्योगिक प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्य राखेको आयोजकले जनाएको छ ।

विसं १९९६ देखि निरन्तर रूपमा आयोजना हुँदै आएको यस प्रदर्शनीले विगत तीन दशकभन्दा बढी समयदेखि उत्पादक, आयातकर्ता, वितरक, इन्जिनियर, प्राविधिक, सरकारी निकाय र उपभोक्ताहरूलाई एउटै थलोमा ल्याई ज्ञान र प्रविधि आदान-प्रदान गर्ने प्रभावकारी मञ्चको रूपमा काम गर्दै आएको छ । 

नेपालमा जलविद्युत उत्पादन, विद्युत पहुँच विस्तार तथा डिजिटल प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेको वर्तमान अवस्थामा सुरक्षित र गुणस्तरीय विद्युतीय सामग्रीको प्रयोग अपरिहार्य बनेको छ ।

हालै नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटले ऊर्जा र विद्युतीय क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ ।

सरकारले अघि सारेका विद्युत उत्पादन वृद्धि, वितरण प्रणालीको विस्तार, विद्युतीय सवारीसाधनको प्रोत्साहन र ऊर्जा आत्मनिर्भरता जस्ता नीतिगत प्राथमिकताहरूलाई व्यवहारमा उतार्न आवश्यक प्रविधि र उपकरणहरूको प्रदर्शनका लागि यो मेला एक साझा मञ्च बन्ने महासंघका अध्यक्ष दिलीप कुमार अग्रवालले जानकारी दिए ।

यस वर्षको प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी र प्रविधि प्रदायकहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ ।

मेलामा ट्रान्सवेल्ड, ह्याभेल्स, केईआई, जनता केबल, लेजर इन्डिया, ग्रेटह्वाइट इलेक्ट्रिकल्स, ब्रिलियन्ट एलईडी, इलेक्ट्रा इलेक्ट्रीक, बजाज, सिमेन्स, क्रम्टन, उषा, एङ्कर, लिपर, स्टेण्डली, के नइन, ओरिएन्ट इलेक्ट्रिक, महालक्ष्मी, चिन्ट, एमजि गोल्ड, सी एण्ड एस इलेक्ट्रिक, प्राइम वायर्स, अर्किड इलेक्ट्रिकल्स लगायतका स्वदेशी तथा बहुराष्ट्रिय ब्राण्डहरूको सहभागिता रहनेछ । यस वर्षका सम्पूर्ण स्टलहरू पूर्वनिर्धारित समयमै बुकिङ भइसकेका छन् ।  

प्रदर्शनीमा विद्युतीय उपकरण, ट्रान्समिसन तथा डिष्ट्रिब्युसन प्रणाली, ट्रान्सफर्मर, स्विचगियर, तार तथा केबल, स्मार्ट होम सोलुसन्स, औद्योगिक स्वचालन, एलईडी, सौर्य ऊर्जा, ईमोबिलिटी तथा चार्जिङ पूर्वाधार र अत्याधुनिक इलेक्ट्रोनिक्स सामग्रीहरू प्रदर्शनमा राखिने जनाइएको छ ।

प्रदर्शनी अवधिभर विभिन्न व्यावसायिक भेटघाट, अन्तरक्रिया कार्यक्रम, उत्पादन प्रदर्शन, प्रविधि प्रस्तुतीकरण तथा ज्ञानमूलक सत्रहरूसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार यसबाट उद्योगी, इन्जिनियर, आर्किटेक्ट र अनुसन्धानकर्ताहरूले नवीनतम प्रविधि तथा अन्तर्राष्ट्रिय अनुभवबाट प्रत्यक्ष लाभ लिन सक्नेछन् ।  

देश तथा विदेशका उद्योगी, प्राविधिक र सर्वसाधारण गरी करिब २५ हजार आगन्तुकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको यस प्रदर्शनीमा प्रवेश पूर्ण रूपमा निःशुल्क गरिएको छ । 

तर, अवलोकनकर्ताहरूले अनिवार्य रूपमा क्यूआर कोड वा तोकिएको लिंकमार्फत आफ्नो नाम रजिष्ट्रेशन गर्नुपर्ने आयाेजकले जनाएको छ ।  

Share News