काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्र र बजारलाई चलायमान बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । बजेटका विभिन्न प्रावधानहरूले आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने उनले बताए ।
अध्यक्ष श्रेष्ठले आयकर दरमा गरिएको सुधार, मध्यम आयस्तर भएका नागरिकलाई प्रोत्साहन र युवा लक्षित कार्यक्रमहरू बजेटका सबल पक्ष भएको उल्लेख गरे ।
विशेषगरी सूचना प्रविधि (आईटी) क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याइएका प्रोत्साहन कार्यक्रमहरूले डिजिटल अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनले बताए । त्यस्तै, लगानीको सुरक्षा र ऋण असुली प्रक्रियालाई थप व्यवस्थित बनाउन ‘क्रेडिट रिकभरी एक्ट’ (कर्जा असुली ऐन) अघि बढाउने सरकारको घोषणालाई निजी क्षेत्रले स्वागत गरेको छ । यसले लगानीकर्ताको लगानी सुरक्षित हुने र कारोबारमा सहजता आउने विश्वास गरिएको छ ।
पूर्वाधार विकासका आयोजनामा आइपर्ने व्यावहारिक तथा कानुनी अड्चनहरू, जस्तै रुख कटान तथा वातावरणीय प्रभाव मूल्याङ्कनका कारण हुने ढिलाइलाई सम्बोधन गर्न ‘सनसेट क्लज’ को अवधारणा ल्याइनुलाई पनि सकारात्मक कदमका रूपमा लिइएको छ। यसले ठूला पूर्वाधार तथा हाउजिङ परियोजनाहरूको कार्यान्वयनमा गति दिने श्रेष्ठको भनाइ छ ।
त्यस्तै, निर्माण व्यवसायीहरूले भोग्दै आएका समस्या र ठूला निर्माण आयोजनामा देखिएका अवरोधहरूलाई सम्बोधन गर्ने विषय बजेटमा समेटिनुले निर्माण क्षेत्रमा देखिएको गतिरोध अन्त्य हुने महासंघको अपेक्षा छ ।
'अहिले बजेटमा केही राम्रा कुराहरू आएका छन् जस्तो लाग्छ। आयकर दरहरू घटाउने प्रयास गरिएको छ, मध्यम आयस्तरका वर्गलाई प्रोत्साहन गर्न खोजिएको देखिन्छ, युवालाई लक्षित कार्यक्रम छन्, र आईटी क्षेत्रमा पनि केही प्रोत्साहन गरिएको छ,' उनले भने, 'पूर्वाधार क्षेत्रमा पनि केही खर्च बढाउने प्रयास गरिएको छ। धेरै वर्षपछि पुँजीगत खर्च बढाइएको छ, करिब एक खर्बले भए पनि वृद्धि भएको देखिन्छ। यसले बजार चलायमान बनाउन सहयोग गर्छ कि भन्ने अपेक्षा छ।'
उनका अनुसार क्रेडिट रिकभरी एक्टलाई अगाडि बढाउने कुरा गरिएको छ, जसले लगानी सुरक्षित बनाउन र उधारो असुलीलाई सहज बनाउन सहयोग पुर्याउने अपेक्षा छ । त्यस्तै, सनसेट क्लजको अवधारणा पनि ल्याइएको छ, जसले पूर्वाधार र हाउजिङ परियोजनामा देखिने अवरोधहरू घटाउन सहयोग पुर्याउने उनकाे भनाइ छ ।
अध्यक्ष श्रेष्ठले मुलुकको समग्र औद्योगिक विकासका लागि घरजग्गा तथा निर्माण क्षेत्रको सक्रियता अपरिहार्य रहेको बताए । निर्माण क्षेत्रलाई उद्योगहरूको पनि उद्योगका रूपमा चित्रण गर्दै उनले यो क्षेत्र चलायमान हुँदा मात्र अन्य सहायक उद्योगहरू फस्टाउने उल्लेख गरे ।
उनका अनुसार निर्माण क्षेत्रको विस्तारले सिमेन्ट, फलामे डन्डी तथा पछिल्लो समय नेपालमै उत्पादन सुरु भएका टाइल उद्योगहरूलाई प्रत्यक्ष सहयोग पुग्नेछ ।
नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने लक्ष्यको सन्दर्भमा अध्यक्ष श्रेष्ठले आर्थिक समृद्धिसँगै नागरिकको जीवनस्तर पनि सुधार हुनुपर्नेमा जोड दिए । उनले नेपालीलाई व्यवस्थित आवास र उच्च जीवनस्तर उपलब्ध गराउन सरकारले उपयुक्त वातावरण निर्माण गर्नुपर्ने बताए ।
'घरजग्गा व्यवसाय वास्तवमै उद्योगहरूको पनि उद्योग हो । निर्माण क्षेत्र फस्टायो भने सिमेन्ट, डन्डी लगायत निर्माण सामग्रीका उद्योगहरू पनि विस्तार हुन्छन् । त्यसका लागि यो क्षेत्र अघि बढ्न आवश्यक छ,' उनले भने, 'एलडीसी ग्र्याजुएसनको विषयमा हामीले तयारी पूरा नभएको भन्दै केही समय सार्न अनुरोध गरेका थियौं । अहिले सरकारले राष्ट्रसंघमा निवेदन पठाइसकेको छ र सम्भवतः केही वर्षको समय पाउन सकिन्छ । तर त्यो अवधिमा तयारी गर्न जरुरी छ ।'
अध्यक्ष श्रेष्ठले मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुँदा केवल आर्थिक तथ्याङ्क मात्र होइन, नेपालीको जीवनशैली र आवास स्तरमा पनि सुधार आउनुपर्ने बताए । उनले व्यवस्थित आवास क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढे मात्र मुलुकको आर्थिक र सामाजिक छवि सुधार हुने विश्वास व्यक्त गरे ।