काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल परीक्षा सम्पन्न भएको ४५ दिनभित्रै सार्वजनिक गर्ने लक्ष्यका साथ कामलाई तीव्र गतिमा अघि बढाएको जनाएको छ ।
बोर्डका अनुसार परीक्षा सम्पन्न भएको छोटो समयमै उत्तरपुस्तिका परीक्षणदेखि प्राप्ताङ्क व्यवस्थापनसम्मका काम उल्लेख्य रूपमा सम्पन्न भइसकेका छन् ।
परीक्षा सकिएको करिब दुई साता मात्र बितिसक्दा नतिजा प्रकाशनसँग सम्बन्धित आधाभन्दा बढी काम पूरा भएको बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले उत्तरपुस्तिका परीक्षणको काम द्रुत रूपमा भइरहेको छ र ५० प्रतिशतभन्दा बढी परीक्षण सम्पन्न भइसकेको छ ।
उनका अनुसार परीक्षण सकिएका उत्तरपुस्तिकाको प्राप्ताङ्क रुजु गर्ने, सम्परीक्षण गर्ने र त्यसपछि कम्प्युटर प्रणालीमा प्रविष्ट गर्ने प्रक्रिया एकसाथ सञ्चालनमा छ । कुनै विषयको उत्तरपुस्तिका परीक्षण पूरा हुनासाथ त्यसको सम्परीक्षण तत्काल सुरु गरिने र सम्परीक्षण समाप्त भएपछि प्राप्ताङ्कलाई डिजिटल प्रणालीमा राख्ने काम निरन्तर भइरहेको उनले जानकारी दिए ।
नतिजा सार्वजनिक गर्ने समय छोट्याउने उद्देश्यले बोर्डले परीक्षा सम्पन्न भएको दिनदेखि नै उत्तरपुस्तिका परीक्षणको प्रक्रिया सुरु गरेको थियो । यसपटक देशभरका ४२ वटा परीक्षण केन्द्रमार्फत उत्तरपुस्तिका जाँच भइरहेको छ । यसले कामको गति बढाएको बोर्डको भनाइ छ ।
परीक्षा नियन्त्रक शर्माले बोर्ड निर्धारित समयसीमाभित्रै नतिजा सार्वजनिक गर्न प्रतिबद्ध रहेको बताए । ‘हाम्रो तयारी अनुसार नतिजा परीक्षा सकिएको ४५ दिनभन्दा ढिलो हुँदैन । सकेसम्म त्योभन्दा अगावै सार्वजनिक गर्ने गरी सबै संयन्त्र परिचालन गरिएको छ,’ उनले भने ।
यस वर्ष कक्षा १२ को परीक्षामा देशभरबाट करिब चार लाख १८ हजार विद्यार्थी सहभागी भएका थिए । ठूलो संख्यामा परीक्षार्थी सहभागी भए पनि बोर्डले नतिजा प्रकाशन प्रक्रियालाई व्यवस्थित र छिटो बनाउन प्राविधिक तथा प्रशासनिक तयारीलाई प्राथमिकतामा राखेको जनाएको छ ।
यसअघि पनि राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनमा गति बढाएको देखिएको थिया े। यही वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरिएको थियो, जुन एसइईको इतिहासमै सबैभन्दा छिटो नतिजा प्रकाशन भएको रेकर्ड बनेको थियो।
विगतका वर्षहरूमा भने एसइई र कक्षा १२ को नतिजा सार्वजनिक हुन सामान्यतः दुईदेखि तीन महिना लाग्ने गरेको थियो । तर पछिल्ला वर्षमा बोर्डले परीक्षा व्यवस्थापन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रशोधन प्रक्रियामा सुधार ल्याउँदै समयावधि छोट्याउने प्रयासलाई प्रभावकारी बनाएको देखिन्छ ।
यस वर्ष पनि विद्यार्थी र अभिभावकको चासोबीच बोर्डले छिटो, विश्वसनीय र व्यवस्थित रूपमा नतिजा सार्वजनिक गर्ने तयारीलाई अन्तिम चरणसम्म पु¥याउने जनाएको छ ।