फरार जिबी, संकटमा टेलिभिजन

जीबी राईको ग्यालेन्सी फोरके टेलिभिजनले कर र घरभाडा तिर्न सकेन

काठमाडौं । गोर्खा मिडिया नेटवर्क प्रालिले सञ्चालन गर्दै आएको ग्यालेक्सी फोरके टेलिभिजनले काठमाडौं महानगरपालिकाको भवनको भाडा नतिरेपछि महानगरले बक्यौता असुली प्रक्रिया अघि बढाएको छ ।

काठमाडौं महानगरपालिका–३ का मृगेन्द प्रसाद मिश्रको घरजग्गामा सञ्चालित गोर्खा मिडिया नेटवर्कले लामो समयदेखि घरभाडा नतिरेको भन्दै महानगरले १५ दिने सार्वजनिक सूचना जारी गरेको हो । महानगरले बक्यौता रकम असुल गर्न टेलिभिजनका सामान लिलामी बिक्री गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ ।

महानगरले गितेन्द्रबाबु राई (जीबी राई) लाई प्रतिवादी बनाएर सूचना सार्वजनिक गरेको हो । महानगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार वडा कार्यालयको मेलमिलाप तथा न्यायिक समितिको निर्णयपछि गोर्खा मिडिया नेटवर्कबाट भाडा उठाउन पटक–पटक ताकेता गरिएको थियो । तर कम्पनीले बहाल रकम नतिरेपछि कार्यालयमा रहेका सामग्री बिक्री गरेर असुलउपर गर्ने निर्णय गरिएको उल्लेख छ ।

सूचनामा टेलिभिजन सञ्चालनमा प्रयोग भएका टेलिभिजनका उपकरण तथा अन्य सामग्री बिक्री गरिने उल्लेख गरिएको छ । महानगरले १५ दिनभित्र सम्बन्धित पक्षलाई आफ्नो दाबी वा प्रमाणसहित उपस्थित हुन पनि आग्रह गरेको छ । तोकिएको अवधिमा कोही सम्पर्कमा नआए प्रचलित कानुनअनुसार सामान बिक्री गरी बक्यौता असुल गरिने महानगरको चेतावनी छ ।

गोर्खा मिडिया नेटवर्कका अध्यक्ष रहेका जीबी राई सहकारी ठगी प्रकरणपछि विवादमा तानिएका बेला कम्पनीअन्तर्गत सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनको आर्थिक अवस्था थप संकटमा परेको देखिएको छ । महानगरको पछिल्लो सूचनाले टेलिभिजनको घरभाडासमेत तिर्न नसकेको अवस्था सार्वजनिक भएको हो । हाल राई फरार छन् । 
 

Share News