काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा नेपाल प्रवर्द्धनसम्बन्धी ‘नेपाल प्रमोशन इभिनिङ’ कार्यक्रम सम्पन्न भएको छ । दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास (कंगोका लागि समेत समवर्ती मान्यता प्राप्त) र एनआरएनए कंगोको संयुक्त आयोजनामा १५ देखि १९ मे २०२६ सम्म लुबुम्बाशी र किन्शासामा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमअन्तर्गत व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे विभिन्न कूटनीतिक, व्यावसायिक र औपचारिक भेटघाट सम्पन्न भएको जनाइएको छ ।
एनआरएनए कंगोका अध्यक्ष विष्णु गिरीका अनुसार कार्यवाहक राजदूत रमेश कुमार चम्राकारले कंगोका सरकारी उच्च पदाधिकारी तथा खानी (माइनिङ) क्षेत्रका विभिन्न कम्पनीका नेतृत्वसँग भेटवार्ता गरेका थिए । उक्त क्रममा सम्बन्धित कम्पनीका अध्यक्ष तथा उच्च व्यवस्थापनसँग सहकार्यका सम्भावनाबारे छलफल भएको थियो ।
यसैक्रममा सोमिका समूहअन्तर्गत सञ्चालित उद्योग तथा खानी क्षेत्रको समेत भ्रमण गरिएको थियो । भ्रमणका क्रममा कम्पनीका उच्च व्यवस्थापनसँग नेपाली कामदारहरूको अवस्था, सुरक्षा, कार्य वातावरण, श्रम व्यवस्थापन तथा द्विपक्षीय सहकार्यका विषयमा विस्तृत छलफल भएको बताइएको छ ।
भेटका अवसरमा लगानीका लागि नेपालमा अनुकूल वातावरण निर्माण भएमा कंगोका कम्पनीहरू नेपालमा लगानी गर्न इच्छुक रहेको धारणा समेत व्यक्त गरिएको जनाइएको छ ।
कार्यक्रमका क्रममा कंगोमा कार्यरत नेपालीहरूको अवस्था, रोजगारीका अवसर, सुरक्षा चुनौती, बसोबासका समस्या तथा कानुनी–प्रशासनिक प्रक्रियासम्बन्धी विषयमा समेत जानकारी आदानप्रदान गरिएको थियो। साथै सरोकारवाला निकायबाट नेपाली श्रमिकहरूको वर्तमान अवस्था र सुधारका सम्भावनाबारे प्रत्यक्ष जानकारी लिइएको जनाइएको छ ।
नेपाल सरकारका तर्फबाट कंगोमा यस प्रकारको विस्तृत फिल्ड भ्रमण, उद्योग अवलोकन तथा उच्चस्तरीय भेटघाट गर्ने यो पहिलो प्रयास भएको बताइएको छ ।
उक्त कार्यक्रमले नेपाल र प्रजातान्त्रिक गणतन्त्र कंगोबीच व्यापार, पर्यटन, लगानी तथा श्रम कूटनीतिक सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको छ । साथै कंगोमा रहेका नेपाली समुदायका समस्या र सम्भावनालाई सरकारसमक्ष प्रभावकारी रूपमा उठाउने वातावरण बनेको विश्वास गरिएको छ ।