घुस खुवाउन खोजेको हल्लाप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालका केही पत्रकारहरूलाई चिनियाँ नागरिकले घूस दिएर एक नेपाली राजनीतिज्ञविरुद्ध नकारात्मक समाचार लेखाउन खोजेको भनी सामाजिक सञ्जालमा फैलिएको हल्लाप्रति नेपालस्थित चिनियाँ दूतावासले गम्भीर आपत्ति जनाएको छ । 

दूतावासका प्रवक्ताले एक वक्तव्य जारी गर्दै उक्त हल्ला पूर्णतः निराधार रहेको बताएका छन् ।

चीनलाई जानाजानी बदनाम गर्ने उद्देश्यले फैलाइएको यस्तो भ्रामक हल्लाको निन्दा गर्दै प्रवक्ताले ती दाबीहरूलाई पूर्ण रूपमा अस्वीकार गरेका छन् । 

चीनले सधैं अन्य राष्ट्रहरूको आन्तरिक मामिलामा अहस्तक्षेपको नीति अङ्गाल्दै आएको स्पष्ट पार्दै उनले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि चालेका कदमहरूलाई चीनले सधैँ दृढतापूर्वक समर्थन गर्दै आएको बताएका छन् । 

साथै नेपालको राजनीतिक स्थिरता, आर्थिक विकास र नेपाली जनताको जीविकोपार्जनमा सुधार ल्याउने प्रयासमा चीनको सक्रिय सहयोग निरन्तर रहँदै आएको समेत वक्तव्यमा उल्लेख छ ।

चिनियाँ दूतावासले यस विषयलाई गम्भीरतापूर्वक लिँदै नेपाल सरकारका सम्बन्धित निकायहरूलाई यसबारेमा गम्भीर, गहिरो र विस्तृत अनुसन्धान गर्न आग्रहसमेत गरेको छ । 

‘यी हल्लाहरूको गम्भीर, गहन र पूर्ण अनुसन्धान गर्न तथा त्यसमा प्रत्यक्ष रूपमा संलग्न व्यक्तिहरूलाई नेपाली कानुनअनुसार कडा सजाय दिन आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी हाम्रा दुई देशको साझा हितको रक्षा गर्न नेपाली पक्षसँग कानुन प्रवर्तन र सुरक्षा सहयोगलाई सुदृढ पार्न तयार छौं ।’

यस घटनामा प्रत्यक्ष रूपमा संलग्न व्यक्तिहरू र यसको पछाडि रहेका मुख्य योजनाकारहरूलाई पहिचान गरी नेपाली कानुनबमोजिम कडा कारबाही गर्न चिनियाँ पक्षको माग छ । 

दुवै देशको साझा हित र सुरक्षाको रक्षाका लागि चीन नेपालसँग कानुन कार्यान्वयन र सुरक्षा सहयोगलाई थप सुदृढ बनाउन सधैं तयार रहेको समेत प्रवक्ताले स्पष्ट पारेका छन् । 

साथै नेपाल र चीनबीचको दशकौं पुरानो परम्परागत मैत्रीपूर्ण सम्बन्ध र दुईपक्षीय सहयोगलाई अझ मजबुत बनाउन चिनियाँ पक्ष नेपाली जनतासँग मिलेर काम गर्न प्रतिबद्ध रहेको वक्तव्यमा उल्लेख छ ।

Share News