हुम्ला-बाजुरा सीमा विवाद : एसएसपीको संयोजकत्वमा छानबिन टोली गठन

काठमाडौं । हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिनका लागि गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) को संयोजकत्वमा छानबिन टोली गठन गरेको छ ।

गृह सचिवको संयोजकत्वमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा आइतबार (आज) बसेको आकस्मिक बैठकले उक्त छानबिन टोली गठन गर्ने निर्णय गरेको हो । 

मन्त्रालयले उक्त टोलीलाई तुरुन्त कार्यस्थलमा खटिएर छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । 

घटनाको जानकारी प्राप्त हुनासाथ मन्त्रालय पूर्ण रूपमा सक्रिय भई तत्कालै हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको विशेष टोली घटनास्थलमा परिचालन गरिसकेको गृह मन्त्रालयले जनाएको छ ।

सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न र शान्ति सुव्यवस्थालाई थप मजबुत बनाउन मन्त्रालयले जिल्ला सुरक्षा समितिलाई निरन्तर उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी सुरक्षा रणनीति अख्तियार गर्न समेत भनिएको छ ।

स्थिति नियन्त्रण र दीर्घकालीन शान्तिका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका तर्फबाट थप आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गर्न मन्त्रालयले दुवै सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ । 

हुम्लाको सीमा हिमाली गाउँपालिका–३ र खार्पुनाथ गाउँपकालिका–२ को लामपाटामा अस्थायी प्रहरी चौकी राख्ने विषयमा विवाद उत्पन्न भएको हो ।

खार्पुनाथ गाउँपालिका–२ का राय र थाली गाउँका बासिन्दाले प्रहरी चौकी निर्माणमा अवरोध गर्दा राय र थाली गाउँका स्थानीय कुटपिट भएको थियो ।

कुटपिटमा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा नम्बर ३ का वडा सदस्यसहित पाँच जना घाइते भएका थिए ।

आजै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको थियाे ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।

बाजुरा–हुम्ला सीमा विवाद सुल्झाउन उच्चस्तरीय समिति गठन

null

Share News