काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षति पुगेका काठमाडौं महानगरपालिका वडा नं। ११ र १२ अन्तर्गत टेकुदेखि थापाथलीसम्म बागमती नदी किनारमा रहेका ऐतिहासिक संरचनाहरूको पुनर्निर्माण सम्पन्न भएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले एशियाली विकास बैंकको ऋण सहयोगमा बागमती सुधार आयोजना अन्तर्गत २८ वटा सम्पदाको जीर्णोद्धार तथा पुनर्निर्माण सम्पन्न गरेको हो ।
समितिका अनुसार पुनर्निर्माण गरिएका संरचनाहरूमा नारायण सत्तल, हनुमान सत्तल, माछेशा सत्तल, कालमोचनघाट सत्तल, वेरागी सत्तल, उदासी सत्तल, सन्यासी सत्तल, सीताराम सत्तल तथा मन्दिर, तीन देवल मन्दिर, तीन देवल सत्तल, पञ्चलिङ्गेश्वर मन्दिर, कृष्ण सुभद्रा मन्दिर तथा शिव मन्दिर (क) र (ख) लगायतका ऐतिहासिक संरचना रहेका छन् ।
समितिले ती संरचनामा पहिले बसोबास गर्दै आएका व्यक्तिहरूमध्ये पुनर्निर्माणपछि फर्केर बसोबास गर्न नपाएका व्यक्तिहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ । अबको १५ दिनभित्र आफ्नो परिचय खुल्ने कागजातसहित कार्यालयमा निवेदन दिन अनुरोध गरिएको छ ।