काठमाडौं । मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान, मत्स्य तथा वन क्षेत्रले दिने योगदान तुलनात्मक रूपमा कम भएका कारणले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर १.३१ प्रतिशत रहने जनाइएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय, तथ्याङ्क समन्वय कार्यालय धनुषाले बुधबार सार्वजनिक गरिएको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमानसम्बन्धी समष्टिगत आर्थिक सूचकमा त्यस्तो जनाइएको हो ।
यस पटक पर्याप्त मात्रामा पानी नपरेका कारणले धान तथा मत्स्य उत्पादनमा नकारात्मक प्रभाव पारेकाले विगत ३ वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल हुने तथ्याङ्क अधिकृत नरबहादुर कुँवरले जानकारी दिए ।
आर्थिक वर्ष २०८०/८१ मा भने मधेसमा ३.१८ प्रतिशत र आर्थिक वर्ष २०८१/८२ मा २.७२ प्रतिशत आर्थिक वृद्धि रहेको थियो । लगातार २ वर्षयता मधेसको कृषि उत्पादनमा नकारात्मक प्रभाव पारेका कारणले आर्थिक वृद्धि दर खस्कँदै गएको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादनमा मधेस प्रदेशको योगदान १३.१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।
तथ्याङ्क सार्वजनिकीकरण कार्यक्रममा प्रदेशका नीति तथा योजना आयोगका सदस्य राजकिशोर सिंहले मधेस प्रदेशमा कृषिको योगदान घट्दा यो समस्या आएको बताए । आगामी बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ ।