नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहले पाएका छन् । निगमका सबैभन्दा वरिष्ठ कर्मचारी रहेका साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सो जिम्मेवारी तोकेको हो । 

यसअघिका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले नयाँ सरकारको चाहनाबमोजिम गत वैशाख ३० गते आफ्नो पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गरेका थिए । 

उनले राजीनामा दिएको एक सातापछि मन्त्रालयले वरिष्ठताका आधारमा साहलाई निगमको निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको हो । 

नायब कार्यकारी निर्देशक पदमा कार्यरत साहले यसअघि निगमको अर्थ र कर्मचारी प्रशासन विभागको नेतृत्व गर्दै आएका थिए । 

निगमका अनुसार साहले निगमको निमित्त प्रमुख भएर काम गर्न लागेको यो दोस्रोपटक हो ।  यसअघि अढाई वर्षअघि (२०८० मंसिर २६ गते) तत्कालीन कार्यकारी निर्देशक उमेश थानीले राजीनामा दिएपछि पनि साहले दुई महिनाभन्दा बढी समय निमित्त प्रमुखको रूपमा निगमको कमाण्ड सम्हालेका थिए ।

चार्टर्ड एकाउन्टेन्ट (सीए) समेत रहेका साह निगमको वित्तीय पारदर्शिता र लेखा प्रणाली सुधार गर्ने व्यक्तिका रुपमा चिनिन्छन् ।  

उनी आयल निगमको सेवामा प्रवेश गर्नुअघि निगमको लेखा परीक्षण नियमित हुने गरेको थिएन । साह आएपछि भने निगमको वित्तीय विवरणहरूको नियमित रूपमा लेखा परीक्षण हुँदै आएको छ ।

वरिष्ठता र व्यावसायिक दक्षताका कारण साहलाई निगमको हालको नेतृत्व सहज रूपमा अगाडि बढाउने जिम्मेवारी सुम्पिएको मन्त्रालयले जनाएको छ ।

Share News