झापा । नेपाली मौलिक खानाको स्वाद र नेपाली सेतो कोट र सेतो टोपीको गरिमालाई विश्वस्तरमा पुर्याउने उद्देश्यका साथ झापाको दमकमा फूड फेस्टिभल २०२६ तथा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज शुक्रबार (आज)देखि सुरु भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको आयोजनामा दुई दिन चल्ने उक्त कार्यक्रमले नेपाली पाककलालाई विश्व बजारमा ब्रान्डिङ गर्ने नयाँ ढोका खोलेको छ ।

कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका महासचिव दीपक कार्कीले नेपाली पाककला केवल सीप मात्र नभएर देशको संस्कृति र पहिचान भएको जानकारी दिए ।
‘हाम्रो कुकरी कला एउटा सिर्जना हो, जसले विश्वसामु नेपालको आत्मालाई प्रस्तुत गर्छ,’ उनले भने ।
‘हामीले हिमाल र पहाड मात्र होइन, नेपाली खानाको मौलिक स्वादलाई पनि नेपाल चिनाउने बलियो आधार बनाउनुपर्छ,’ उनले थपे ।
यस्तै, सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारीले सेफको पेशालाई स्वास्थ्यसँग जोड्दै भने, ‘डाक्टरले बिरामी भएपछि उपचार गर्छन्, तर सेफले मानिसलाई बिरामी हुनबाटै जोगाउने स्वस्थ खाना बनाउँछन् । त्यसैले सेफहरू स्वास्थ्यका वास्तविक डाक्टर हुन् ।’

उनले नेपाली सेफहरूले विश्वका पाँचतारे होटलहरूमा पुर्याएको योगदानको प्रशंसा गर्दै अब नेपालमै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए ।
सीप र शिक्षाको फ्युजन कार्यक्रमले विशेषगरी युवा पुस्ता र विद्यार्थीहरूलाई लक्षित गर्दै सीपलाई शिक्षासँग जोड्नुपर्ने सन्देश दिएको छ ।
सीपबिनाको शिक्षाले बेरोजगारी मात्र उत्पादन गर्ने भन्दै आयोजकले नेपाली विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन यस्ता प्रतियोगिताहरूले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
आगामी योजना अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीले यसै वर्ष नोभेम्बरमा युएईमा, सेप्टेम्बरमा माल्टामा र अगस्टमा न्युजिल्याण्डमा पनि यस्तै फूड फेस्टिभलहरू आयोजना गरेर नेपाली खानाको प्रचारप्रसार गर्ने घोषणा गरेको छ ।
दमकमा भएको यो प्रतियोगिताले कोशी प्रदेशको मात्र नभई समग्र नेपालको पर्यटन र होटल व्यवस्थापन क्षेत्रमा नयाँ उत्साह थपेको सोसाइटीले जनाएको छ ।
। कार्यक्रममा सहभागी सेफहरूले सेतो कोट र टोपीको सम्मानका लागि एकजुट भएर लाग्ने प्रतिबद्धता समेत जनाएका छन् ।
युनिभर्सल कुुलिनरी आट्र्स कलेज र पाथिभरा कुुलिनरी आट्र्स कलेजको प्राङ्गणमा कतार, जर्मनी, भारत, युएई, साइप्रस लगायत विश्वका ४५ वटा देशमा कार्यरत नेपाली सेफहरूको प्रतिनिधित्व रहेको छ ।
५० भन्दा बढी स्टल रहेका फुड फेस्टिभलमा १२ वटा जजहरू रहेको आयोजकले जनाएको छ ।

रैथाने खानाको प्रवर्द्धन गर्दै खुला पाककला प्रतियोगिता, विजेताले १ लाख पाउने
यस्तै, नेपाली स्थानीय तथा रैथाने खानाहरूको प्रवर्द्धन र नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले खुला पाककला प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । विभिन्न चरणमा सञ्चालन हुने यस प्रतियोगितामा विद्यार्थी तथा प्रशिक्षार्थी सेफहरूले आफ्नो पाक कला प्रदर्शन गरिरहेका छन् ।
प्रतियोगिताको स्वरूप र मूल्याङ्कन प्रतियोगितामा सहभागीहरूले आयोजकद्वारा उपलब्ध गराइएको खाद्यान्न र सामग्री प्रयोग गरी आफ्नो इच्छा अनुसारको परिकार बनाउन पाउनेछन् ।
जजहरूका अनुसार सहभागीलाई कुनै खास परिकार बनाउन दबाब दिइएको छैन, बरु उनीहरूले जानेको र उत्कृष्ट बनाउन सक्ने खानालाई प्राथमिकता दिइएको छ ।
प्रतियोगिताको मूल्याङ्कनका लागि अन्तर्राष्ट्रिय स्तरको अनुभव प्राप्त र दक्ष सेफहरूको टोली खटाइएको छ । जजहरूले सहभागीले बनाएको खानाको स्वाद, बनाउने शैली र प्रस्तुतिलाई १ देखि १० को अंकभारमा स्कोरिङ गर्नेछन् ।
सबै जजहरूको औषत अंकका आधारमा उत्कृष्ट सहभागीहरू सेमिफाइनल हुँदै फाइनलमा प्रवेश गर्नेछन् ।
स्थानीय खानामा जोड यस प्रतियोगितामा विशेष गरी नेपाली रैथाने खानाहरू जस्तै नेवारी, थकाली, भोजपुरी खानाका साथै ढिँडो, सिस्नु, दाल–भात र मासुकाविभिन्न परिकारहरू समावेश गरिएका छन् ।
‘हामीले रैथाने र स्थानीय खाना भनेका छौं, तर यो पूर्ण रूपमा सहभागीको रोजाइमा भर पर्छ,’ एक जजले भने ।
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख रुपैयाँ, द्वितीय पुरस्कार ७५ हजार रुपैयाँ, तृतीय पुरस्कार ५० हजार रुपैयाँ राखिएको छ ।

अन्तर्राष्ट्रिय जजहरूको सहभागिता प्रतियोगितालाई निष्पक्ष र उच्च स्तरीय बनाउन विदेशमा कार्यरत अनुभवी नेपाली सेफहरू पनि जजको रूपमा रहेका छन् ।
युएईबाट प्रतिनिधित्व गर्दै आएका जज ह्युमन लिम्बुका अनुसार यो प्रतियोगिता सिनियर सेफहरूबाट तालिम लिएका विद्यार्थीहरूका लागि आफ्नो प्रतिभा देखाउने ठुलो प्लेटफर्म हो।