काठमाडौं । सातै प्रदेशको राजनीतिक अभियान सम्पन्न गरेपछि नेपाली कांग्रेसको संस्थापनइतर पक्ष राष्ट्रिय भेला गर्ने तयारीमा जुटेको छ। त्यसको प्रारम्भिक गृहकार्यस्वरूप शुक्रबार दिउँसो निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गल्फुटारस्थित निवासमा शीर्ष नेताहरूको रणनीतिक बैठक सुरु भएको हो।
बैठकमा प्रदेशस्तरीय भेलाबाट प्राप्त राजनीतिक सन्देशको समीक्षा, पार्टीभित्रको आगामी रणनीति तथा राष्ट्रिय भेला आयोजना गर्ने विषयमा केन्द्रित छलफल भइरहेको स्रोतले जनाएको छ। पछिल्ला दिनमा संस्थापनइतर पक्षभित्र भएका निरन्तर संवाद र परामर्शको श्रृंखलापछि बसेको यो बैठकलाई समूहको आगामी राजनीतिक दिशाबारे महत्वपूर्ण मानिएको छ।
बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू कृष्ण सिटौला, डा. शशांक कोइराला र प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, कर्णाली प्रदेश सभापति ललितजंग शाही तथा नेताहरू मीन विश्वकर्मा, एनपी साउद, डा. प्रकाशशरण महत, रमेश लेखक, कृष्णप्रसाद पौडेल, आनन्दप्रसाद ढुंगाना र मोहन बस्नेतलगायत सहभागी छन्।
बैठकअघि संस्थापनइतर पक्षका प्रभावशाली नेताहरूबीच छुट्टाछुट्टै राजनीतिक परामर्श भएको थियो। बिहीबार बिहान खड्का र डा. शेखर कोइरालाबीच गल्फुटारमा छलफल भएको थियो भने त्यसपछि खड्काले महाराजगञ्ज पुगेर डा। शशांक कोइरालासँग भेटवार्ता गरेका थिए। त्यही दिन पूर्वउपसभापति विमलेन्द्र निधिको बानेश्वर हाइटस्थित निवासमा निधि, प्रकाशमान सिंह र डा। शशांक कोइरालाबीच पनि छलफल भएको थियो।
संस्थापनइतर पक्षले हालै सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरेको छ। ती भेलामध्ये कोशी प्रदेशको कार्यक्रममा डा। शेखर कोइरालालाई प्रमुख अतिथि बनाइएको थियो, जसलाई समूहभित्र नेतृत्वको समन्वय र एकताको संकेतका रूपमा व्याख्या गरिएको थियो।
बैठकको औपचारिक एजेन्डाबारे सार्वजनिक रूपमा केही नबताइए पनि नेता खड्काले समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेताहरूलाई बोलाइएको प्रतिक्रिया दिएका छन्।
यद्यपि, संस्थापनइतर पक्षका एक नेताका अनुसार अब प्रदेश अभियानलाई राष्ट्रिय तहमा विस्तार गर्ने तयारी भइरहेको छ। त्यसका लागि राष्ट्रिय भेला आयोजना गर्ने प्रस्ताव शुक्रबारको बैठकमा मुख्य एजेन्डाका रूपमा छलफल भइरहेको छ। उक्त भेलामार्फत पार्टीभित्र आफ्नो साझा धारणा र आगामी राजनीतिक रोडम्याप सार्वजनिक गर्ने तयारी संस्थापनइतर पक्षको रहेको स्रोतको दाबी छ।