काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देश अप्ठ्यारो अवस्थामा पुगेको भन्ने भाष्य गलत भएको बताएका छन् ।
आइतबार सांसदहरूको प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले देश गलत दिशातर्फ नगएको दाबी गरेका हुन् ।
उनले कतिपय विश्लेषकहरूले देश कहाँ गयो भन्दै नकारात्मक भाष्य निर्माण गर्न खोजिरहेको उल्लेख गर्दै अहिले देश ट्र्याकमा फर्काउने काम भइरहेको बताए ।
‘कतिपय विश्लेषकहरूलाई देश कहीँ अप्ठ्यारोमा पर्यो कि भन्ने लाग्न सक्छ । तर म भन्छु देश कहीँ पनि अप्ठ्यारोमा छैन, हामी देशलाई ट्र्याकमा ल्याउने कोसिसमा छौं । ट्र्याकबाहिर त हिजो थियो,’ लामिछानेले भने।
सभापति लामिछानेले रास्वपा देशको सार्वभौमिकता र अखण्डताप्रति अडिग रहेको पनि बताए । उनले पार्टी युवापुस्ताको भविष्यप्रति संवेदनशील रहेको उल्लेख गर्दै राष्ट्रिय हितका विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।
‘हामी निर्भीक भएर अडिन सक्छौं, बाल्न सक्छौं । यी विषयहरूमा हामी कहिल्यै सम्झौता गर्दैनौं,’ उनले भने ।
रास्वपामा केही सांसदहरूको मात्रै सार्वजनिक चर्चा हुने गरेको उल्लेख गर्दै उनले पार्टीभित्र थुप्रै सक्षम र विज्ञ व्यक्तित्व रहेको दाबी गरे । उनले सार्वजनिक वृत्तमा आठ–दश जना सांसदको बढी चर्चा भएपनि पार्टीमा एकसेएक विज्ञ र क्षमतावान नेता रहेको बताए ।
‘कोही साथीहरूको सार्वजनिक वृत्तमा चर्चा भइरहन्छ । त्यो समय र आवश्यकताअनुसार चल्ने प्रक्रिया हो । हामी संख्यामा धेरै छौं, कतै न कतै कसैको कुनै विषयमा विवाद भइहाल्न सक्छ,’ उनले भने ।
लामिछानेले पार्टीका नेता तथा सांसदहरूको अभिव्यक्ति र गतिविधिले मतदातामा निराशा पैदा गर्न सक्ने भन्दै त्यसतर्फ गम्भीर हुन निर्देशनसमेत दिए ।
उनले आशा र भरोसाका साथ मतदान गरेका नागरिकको भावनामा चोट पुग्ने खालका गतिविधि नगर्न समेत आग्रह गरे ।