काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी-व्यवसायीलाई धरपकड गर्ने सरकारको कुनै योजना नरहेको स्पष्ट पार्दै हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘निजी क्षेत्रका व्यवसायीलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन । त्यसैले हल्लाको पछि नपर्नुस् । तपाईंहरू हाम्रो साझेदार हो ।’
अर्थमन्त्री डा. वाग्लेले सरकारको १०० बिलियन डलरको अर्थतन्त्र बनाउने योजनामा निजी क्षेत्र प्रमुख साझेदार रहेको बताए । उनले सरकारका पाँच प्राथमिकताबारे पनि स्पष्ट पारे ।
उनका अनुसार सरकारको पहिलो प्राथमिकता सुशासन हो । दोस्रो, अर्थतन्त्रको पुनरुत्थान हो भने तेस्रो प्राथमिकता मुलुकमा आन्तरिक तथा बाह्य कनेक्टिभिटी विस्तार गर्नु हो । यस्तै चौथो प्राथमिकता सामाजिक लगानी र पाँचौँ प्राथमिकता पर्यटन, संस्कृति र इतिहासमार्फत सौम्य शक्ति विस्तार गर्नु रहेको उनले बताए ।
अर्थतन्त्रलाई नयाँ दिशातर्फ मोड्ने अवस्थामा मुलुक रहेको उल्लेख गर्दै उनले त्यसका लागि आगामी बजेटसम्म पर्खिन उद्योगी-व्यवसायीलाई आग्रह गरे ।
राजनीतिक स्थायित्व र इमान्दारीपूर्वक काम गर्दा छिमेकी मुलुक भारतले हासिल गरेको प्रगतिको उदाहरण दिँदै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्दाको समय र अहिले नेपालको अर्थतन्त्रका केही सूचक समान रहेको बताए ।
‘सन् २०१४-१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रका केही सूचक नेपालकै अहिलेको अवस्थासँग हाराहारीमा थिए,’ उनले भने, ‘तर पछिल्लो १२ वर्षमा भारतले ठूलो फड्को मारेको छ । हामी पनि अब त्यही बाटोमा अघि बढ्ने बेला भएको छ ।’