काठमाडौं । उत्तरी कोरला नाका क्षेत्रमा शुक्रबार खानेपानी बोरिङ योजनाको शिलान्यास गरिएको छ । लोमान्थाङ गाउँपालिकाको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार कोरला नाकाको दसगजा क्षेत्र नजिकै खानेपानीको व्यवस्था मिलाउन बोरिङ खानेपानी योजना कार्यान्वयनमा ल्याइएको हो ।
कोरला नाकाको नेपालतर्फ खानेपानीको व्यवस्था नहुँदा कोरला नाकामा त्रिपाल टाँगेर व्यापार व्यवसाय चलाएका स्थानीय व्यापारी, कोरला नाका अवलोकनमा गएका पर्यटक तथा कोरला नाकाबाट आयाता/निर्यात गर्ने व्यापारी तथा चालकलाई निकै ठुलो समस्या पर्दै आइरहेको थियो । स्थानीय व्यापारी, पर्यटक र कोरला नाकाबाट आयात/निर्यात गर्ने व्यापारीलाई खानेपानीको समस्या समाधान गर्न लोमान्थाङ गाउँपालिकाले अग्रसरता देखाएको हो ।
कोरला खानेपानी बोरिङ योजनाको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले उद्घाटन गरे । सो अवसरमा अध्यक्ष गुरुङले बोरिङ खानेपानी योजनाले नाकामा व्यापार व्यवसाय गर्ने, कोरला नाकाको अवलोकन गर्न आउने पर्यटक र कोरला नाकाबाट आयात तथा निर्यात गर्ने व्यापारी लाभान्वित हुने बताए ।
विगतका वर्षमा पनि कोरला नाकामा बोरिङमार्फत खानेपानी व्यवस्था गर्ने प्रयास सफल हुन नसके पनि यसपटक खानेपानीको योजनाले मूर्तरूपमा पाएको अध्यक्ष गुरुङले बताए । खानेपानीको व्यवस्थापन गर्ने गरी गाउँपालिकाले कोरला नाकामा शौचालय निर्माण गरिरहेको उनको भनाइ छ ।
कोरला नाकामा बोरिङबाट खानेपानीको व्यवस्था मिलाउन लोमान्थाङ गाउँपालिकाले एशियन कन्ट्रक्सन एण्ड ड्रिलिङ दोलखासँग भ्याटसहित ३० लाख लागतमा सम्झौता गरी योजनाको काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटर्न लम्सालले जानकारी दिए ।
कन्ट्रक्सनले कोरल नाकामा बोरिङबाट खानेपानी निकाल्न उपकरणसहित कार्यक्षेत्रमा परिचालन भइसकेको प्रमुख प्रशासकीय अधिकृत लम्सालको भनाइ छ ।
यसअघि नेपाल-चीन कोरला नाका क्षेत्रमा खानेपानीको व्यवस्था नहुँदा व्यापारी तथा पर्यटकलाई निकै ठुलो समस्या पर्ने गरेको थियो । नाकामा खानेपानी नहुँदा व्यापारी तथा पर्यटकले खानेपानी तथा शौचालय नभएको गुनासो गर्ने गरेका थिए ।
कोर लानाका स्थित २४ नं सीमास्तम्भको दसगजा क्षेत्रमा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका भित्रका करिव ८० भन्दा त्रिपाल व्यवसायीले चिनिया समान बिक्री गर्न बसेका छन् । कोरला नाका खुलेको दुई वर्ष बढी बितिसक्दा नाकामा खानेपानी र शौचालयको व्यवस्था हुन सकेको थिएन ।
कोरला नाकाका त्रिपाल व्यापारीले कोरला नाकादेखि यता उत्तर लोमान्थाङ-२ नेचुङबाट खानेपानी ढुवानी गर्ने गरेका थिए । खानेपानीको योजनाअघि बढेसँगै कोरला नाकाका व्यापारीहरू खुसी भएका छन् ।